होर्मुज नजिकै भारतीय तेल ट्यांकरमा अमेरिकी आक्रमण, दुई जनाको मृत्यु
काठमाडौं । होर्मुज जलडमरू नजिकै तेल ट्यांकर ‘एमटी सेत्तेबेल्लो’ मा भएको अमेरिकी आक्रमणमा दुई भारतीय नाविकको मृत्यु भएको छ भने एक प्रमुख इन्जिनियर अझै बेपत्ता रहेका छन्।
भारतीय नाविकहरूको संगठन फर्वार्ड सीमेन युनियन अफ इन्डियाका महासचिव मनोज यादवका अनुसार जहाजसँग हालसम्म सम्पर्क स्थापित हुन सकेको छैन।
मृत्यु हुनेमा डेक क्याडेट आदित्य शर्मा र इन्जिन फिटर शिवानन्द चौरसिया रहेको पहिचान गरिएको छ। बेपत्ता हुनेमा प्रमुख इन्जिनियर पटनाला सुरेश रहेको बताइएको छ। उनको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।
यादवले अमेरिकी नौसेनाको भूमिकामाथि प्रश्न उठाउँदै जहाजमा भारतीयसहित अन्य विदेशी नागरिकको उपस्थिति रहेको जानकारी अमेरिकी पक्षलाई पहिले नै रहेको दाबी गरेका छन्।
उनका अनुसार जहाजले कुनै निर्देशन नमान्दा नियन्त्रणमा लिन सकिने विकल्प हुँदाहुँदै पनि आक्रमण गरिएको हो। – एजेन्सी
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार
















