राष्ट्र बैङ्कको अध्ययनः उद्योग क्षेत्रको प्रमुख समस्या, दक्ष जनशक्ति र बजारको अभाव



काठमाडौँ ३१ जेठ। मुलुकको औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव र उत्पादित वस्तुका लागि उपयुक्त बजार नहुनु प्रमुख समस्याका रूपमा देखिएको छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको ‘चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन’मा यो यथार्थ उल्लेख गरिएको छ ।

के–के छन् चुनौती ?

अध्ययनअनुसार पर्याप्त पुँजीको अभाव, उच्च उत्पादन लागत, प्रविधिगत पछौटेपन, पूर्ण क्षमतामा उद्योग नचलाउनु र जनशक्ति पलायन प्रमुख चुनौती हुन् । औद्योगिक पूर्वाधार निर्माणमा तीव्रता ल्याउनु, उत्पादकत्व वृद्धि गर्नु, कच्चा पदार्थको उचित प्रबन्ध गर्नु र स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनु पनि आवश्यक देखिएको छ ।

प्रदेशगत रूपमा हेर्दा कर्णालीमा पुँजी अभाव र बजारीकरणको समस्या छ भने सुदूरपश्चिममा भारतसँगको खुला सिमानाका कारण भन्सार छली र अवैध पैठारी नियन्त्रण ठूलो चुनौती बनेको छ ।

सम्भावना पनि उत्तिकै ठूलो

प्रतिवेदनले जलविद्युत्, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको पूर्वाधार निर्माणलाई सरकारको प्राथमिकता रहेको देखाएको छ । कृषि उपज, जडीबुटी र खानीजन्य पदार्थको प्रचुरताका साथै सूचना प्रविधि र आउटसोर्सिङ उद्योगको विकासमा पनि उच्च सम्भावना रहेको उल्लेख छ ।

प्रदेशगत सम्भावनाहरूमा यसप्रकार छन्:

मधेस प्रदेशमा धान, गहुँ, मकै, उखु लगायतको प्रचुर उत्पादनका आधारमा खाद्य प्रशोधन, चिनी, दुग्ध र चामल उद्योग विस्तारको ठूलो सम्भावना छ । धार्मिक र ऐतिहासिक सम्पदामा आधारित पर्यटन उद्योग पनि यहाँ फस्टाउन सक्छ । उच्च जनघनत्वका कारण सस्तो श्रम उपलब्ध हुने भएकाले उद्योग स्थापनाले कुल गार्हस्थ्य उत्पादनमा थप योगदान दिनसक्छ ।

बागमती प्रदेशमा कृषि र पशुपालनमा आधारित मासुजन्य, दुग्धजन्य र जडीबुटी प्रशोधन उद्योगको सम्भावना उल्लेख गरिएको छ । अधिक तरलता र न्यून ब्याजदरको फायदा उठाई बैंकिङ कर्जा परिचालन गर्न सकिने प्रतिवेदनमा जनाइएको छ ।

गण्डकी प्रदेशमा ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानमार्फत कानुनी सुधार र सडक, विद्युत्, इन्टरनेट जस्ता पूर्वाधार विकास भएमा नयाँ औद्योगिक आधार तयार हुने प्रतिवेदनले औंल्याएको छ ।

विदेश फर्किएकालाई प्रोत्साहन

विदेशबाट फर्किएका नेपालीलाई आफ्नो सीपअनुसारको व्यवसाय सञ्चालनमा प्रोत्साहित गरेमा उत्पादन र रोजगारी दुवै बढ्न सक्ने प्रतिवेदनले देखाएको छ । डिजिटल प्रविधिको अधिकतम प्रयोगमार्फत बजार विस्तार र नयाँ उत्पादनको अनुसन्धान पनि सम्भव रहेको उल्लेख छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्