संविधान संशोधनसम्बन्धी प्रस्ताव तयार गर्ने एमाले कार्यदलको निर्णय



काठमाडौँ, ३१ जेठ । नेकपा (एमाले) को संविधान संशोधन सुझाव कार्यदलले संविधान संशोधनसम्बन्धी प्रस्ताव तयार गर्ने निर्णय गरेको छ।

कार्यदलका सचिव महेशकुमार बर्तौलाले संयोजक विष्णुप्रसाद पौडेलको अध्यक्षतामा आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पहिलो बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई थप सुदृढ तथा प्रभावकारी बनाउने उद्देश्यले विभिन्न क्षेत्रबाट सुझाव सङ्कलन गरी संविधान संशोधनसम्बन्धी प्रस्ताव तयार गर्ने निर्णय गरेको बताए।

बैठकले अग्निप्रसाद खरेलको संयोजकत्वमा उपसमिति गठन गरेको छ। उपसमितिमा रमेश बडाल, महेशकुमार बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहेका छन्।

उपसमितिले संविधान कार्यान्वयनको हालसम्मको अनुभवका आधारमा संविधानका सबल र कमजोर पक्ष, कार्यान्वयनका क्रममा देखिएका जटिलता तथा सुधारका आवश्यक पक्ष समेटेर पुनरावलोकनसम्बन्धी प्रस्ताव तयार गर्नेछ। साथै, संविधान संशोधनसम्बन्धी सुझाव सङ्कलनका लागि विस्तृत कार्यतालिका निर्माण गर्ने जिम्मेवारी पनि उपसमितिलाई दिइएको छ।

बैठकले अन्य राजनीतिक दल तथा ती दलले गठन गरेका संविधान संशोधनसम्बन्धी कार्यदलसँग संवाद, छलफल र अन्तरक्रिया गर्ने पहल गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, संविधान संशोधन सुझाव कार्यदलको सदस्य सचिवको जिम्मेवारी महेशकुमार बर्तौलालाई प्रदान गर्ने निर्णय गरिएको छ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्