कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन नेताहरूको जोड



विराटनगर, ३० जेठ । नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

विराटनगरमा शनिबार आयोजित नेपाली कांग्रेसको कोशी प्रदेशस्तरीय बृहत् एकता भेलामा वक्ताहरूले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुको विकल्प नरहेको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस कमजोर भए लोकतन्त्र पनि कमजोर हुने भन्दै कुनै पनि अवस्थामा पार्टी विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

उनले पार्टीभित्र देखिएका विवाद समाधानका लागि आफूले निरन्तर प्रयास गरिरहेको बताउँदै विभाजनको कल्पना समेत गर्न नसकिने बताए ।

“कांग्रेस विभाजन हुँदैन, तपाईंहरू ढुक्क हुनुहोस्,” उनले भने, “यही आत्मविश्वासका साथ गाउँ–गाउँमा गएर पार्टी सुदृढ बनाउने अभियानमा लाग्नुस् ।”

डा. कोइरालाले उक्त भेला पार्टी विभाजनका लागि नभई एकताका लागि आयोजना गरिएको स्पष्ट पार्दै यसलाई गलत अर्थमा नलिन पार्टी नेतृत्वलाई आग्रह गरे ।

नेपाली कांग्रेसका नेता तथा पूर्व उपसभापति विजयकुमार गच्छदारले पार्टी निर्माणमा योगदान गरेका सबै नेताहरूलाई समेटेर अघि बढ्नुपर्ने बताए ।

नेता कृष्णप्रसाद सिटौलाले नेपालको राजनीतिमा कांग्रेस अहिले चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनु आवश्यक रहेको बताए । उनले पार्टी एकताको अभियान स्थानीय तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिए ।

नेता डा. शशाङ्क कोइरालाले ८० वर्ष पुरानो इतिहास बोकेको कांग्रेसलाई पुराना तथा शीर्ष नेताहरूलाई पाखा लगाएर बलियो बनाउन नसकिने बताए ।

नेता डा. मिनेन्द्र रिजालले नेताहरूलाई उदार र फराकिलो सोचका साथ पार्टीभित्रका विवाद समाधान गर्न आग्रह गरे ।

कार्यक्रममा कांग्रेस नेता बलबहादुर केसी, एनपी साउद, मोहनबहादुर बस्नेत, सरिता प्रसाईँ, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की तथा नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राईलगायतले पार्टी एकतालाई सुदृढ बनाउनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्