कैलालीको टेम्पो प्रकरणमा डिभिजन वन अधिकृतसहित १२ कर्मचारी प्रहरी नियन्त्रणमा



धनगढी, ३० जेठ ।कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारीहरूले एक महिलाको स्वरोजगारको साधनका रूपमा रहेको टेम्पो भीरमा खसालेको घटनाप्रति चौतर्फी विरोध भएको छ ।

भीमदत्त राजमार्गमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ बासपानीमा सडक छेउमा राखिएको स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो जेठ २९ गते वन कर्मचारीहरूले हटाउने क्रममा भीरमा खसालेका थिए । सो घटनाको भिडियो जेठ ३० गते सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसले व्यापक चर्चा र आक्रोश पैदा गरेको छ ।

घटना सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशसभा सदस्य सन्तोषकुमारी शर्मा थापाले घटनास्थलको निरीक्षण गर्दै निष्पक्ष छानबिनको माग गर्नुभएको छ। वन अतिक्रमण हटाउने कानुनी प्रक्रिया भए पनि एक विपन्न महिलाको जीविकोपार्जनको साधन नै नष्ट गर्नु अमानवीय र अशोभनीय भएको उहाँले बताउनुभयो ।

पीडित धामीले सोही टेम्पोमा चिया, अण्डा, चाउचाउ र पानीलगायतका सामग्री बिक्री गरेर १० जनाको परिवार पाल्दै आउनुभएको थियो । उहाँका तीन छोरा मजदुरीका लागि भारतमा छन् भने घरमा श्रीमान् र बुहारी हुनुहुन्छ । धामीले भन्नुभयो, “मैले सामान झिकेर गाडी घरसम्म लैजान्छु, अब यहाँ व्यापार गर्दिनँ भन्दाभन्दै वन कर्मचारीले मेरो कुरा सुनेनन् र भीरमा खसालिदिए । मे्रो परिवारको पेटमा लात हान्ने दोषीमाथि कारबाही हुनुपर्छ ।”

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले भने वन अतिक्रमण हटाउन पटक-पटक आग्रह गर्दा पनि अटेर गरेपछि हटाउने क्रममा अनियन्त्रित भई गाडी भीरमा खसेको दाबी गर्नुभएको छ । वन कार्यालयले विज्ञप्ति जारी गर्दै टेम्पो जीर्ण अवस्थामा रहेको, चक्का र इन्जिन बिग्रेको तथा भौगोलिक असन्तुलनका कारण दुर्घटना भएको जनाएको छ । तर स्थानीय जीवराज धामीले भने वन कार्यालयको दाबी गलत भएको र टेम्पो सञ्चालनकै अवस्थामा रहेको बताउनुभयो ।

यसैबीच, घटनाको चौतर्फी आलोचना भएपछि प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ । घटनामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय कैलालीले वन कार्यालयका १२ जना कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ ।

कैलाली प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले भिडियो, प्रत्यक्षदर्शीको भनाइ र सम्बन्धित पक्षको बयानका आधारमा अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । डिभिजन वन प्रमुख ठाकुरसँग पनि वन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा राखेर सोधपुछ भइरहेको छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्