सगेन्द्र सिंह बने ‘मिस्टर महानगर–२०८३’



काठमाडौँ, ३० जेठ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको ‘मिस्टर महानगर’ शारीरिक सुगठन प्रतियोगिताको दोस्रो संस्करणको उपाधि सगेन्द्र सिंहले जितेका छन् ।

काठमाडौँ महानगरपालिका–२२ को आयोजनामा सम्पन्न प्रतियोगितामा डिभाइन फिजिकल फिटनेस सेन्टरका सिंहले ७५ किलोभन्दा माथिको तौल समूहबाट प्रतिस्पर्धा गर्दै ‘मिस्टर महानगर–२०८३’ को उपाधि हासिल गरेका हुन् ।

सिंहले आफ्नो तौल समूहमा प्रथम हुँदै एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । साथै, ओभरअल विजेता बन्दै ‘मिस्टर महानगर’ उपाधिसहित पाँच लाख रुपैयाँ नगद, ट्रफी र ब्यानेट प्राप्त गरे ।

गत वर्ष सम्पन्न पहिलो संस्करणमा ग्रेस महर्जन ‘मिस्टर महानगर’ घोषित भएका थिए ।

प्रतियोगिताका विजेताहरूलाई काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिन् ।

ओभरअल प्रतिस्पर्धामा ५५ किलो तौल समूहबाट जिमटारका सविन चौलागाईं, ६० किलो तौल समूहबाट फिटएक्स जिमका अमृत गहतराज, ६५ किलो तौल समूहबाट फिटनेस ग्यारेज थापाथलीका नवराज डुम्ब्रे, ७० किलो तौल समूहबाट फिटनेस ग्यारेजकै माधव सुवेदी, ७५ किलो तौल समूहबाट नेपाल व्यायाम मन्दिरका क्षितिज थापा तथा ७५ किलोभन्दा माथिको तौल समूहबाट सगेन्द्र सिंहले प्रतिस्पर्धा गरेका थिए ।

महिला फिजिक्सतर्फ एनआरके फिटनेसकी सीता खत्री प्रथम भइन् । उनले एक लाख २५ हजार रुपैयाँ नगद, पदक र सम्मानपत्र प्राप्त गरिन् ।

यस वर्ष पुरुषतर्फ नौ विधामा तथा एथलेटिक्स फिजिक्सतर्फ दुई विधामा प्रतिस्पर्धा गराइएको थियो । महिलातर्फ एथलेटिक्स फिजिक्स विधामा प्रतिस्पर्धा सम्पन्न भएको थियो ।

एथलेटिक्स फिजिक्सतर्फ पुरुष र महिला दुवै विधामा प्रथम हुने प्रतियोगीलाई एक लाख २५ हजार रुपैयाँ, दोस्रोदेखि पाँचौँ स्थानसम्म क्रमशः ७५ हजार, ५० हजार, २५ हजार र १० हजार रुपैयाँ नगदसहित ट्रफी तथा मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्