बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
लन्डन । बेलायत र जापानले करिब १८ अर्ब पाउन्ड बराबरको लगानी सम्झौता गरेका छन् । बेलायती प्रधानमन्त्री किर स्टार्मरले यस सम्झौताले दुई देशबिच सहकार्यको नयाँ युग सुरु गर्ने बताएका छन् ।
प्रधानमन्त्री स्टार्मरले आइतबार लन्डनमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीसँग भेटवार्ता गरेका थिए ।
बेलायती प्रधानमन्त्री कार्यालयका अनुसार जापानी कम्पनीहरूले बेलायतको पूर्वाधार तथा वित्तीय सेवा क्षेत्रमा ९ अर्ब पाउन्डभन्दा बढी र समुद्री वायु ऊर्जा परियोजनामा थप ९ अर्ब पाउन्डसम्म लगानी गर्नेछन् ।
सरकारका अनुसार यसबाट बेलायतमा आगामी वर्षहरूमा दशौँ हजार रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । यद्यपि घोषणा गरिएका रकममध्ये कति नयाँ लगानी हो र कति पहिले नै घोषणा भइसकेका योजनाहरू हुन भन्ने विषय स्पष्ट गरिएको छैन । भेटका क्रममा दुवै नेताले जापानी व्यवसायीहरूसँग पनि छलफल गरेका थिए । त्यसपछि स्टार्मरले वार्तालाई अत्यन्त फलदायी भएको बताएका छन् ।
यसैबिच, बेलायत, जापान र इटालीको संयुक्त साझेदारीमा विकास भइरहेको ग्लोबल कम्ब्याट एयर प्रोग्राम (जीक्याप) लडाकु विमान परियोजनाप्रति दुवै देशले पुनः प्रतिबद्धता जनाएको पनि घोषणा गरिएको छ ।
ऊर्जा तथा प्रविधि क्षेत्रमा पनि सहकार्य विस्तार गर्ने सहमति भएको छ। बेलायती कम्पनी रोल्स–रोयसले जापानको आणविक ऊर्जा एजेन्सीसँग मिलेर नयाँ पुस्ताको आणविक प्रविधि विकास गर्नेछ । साथै बेलायती अनुसन्धान, सफ्टवेयर विकास तथा जापानी उत्पादन क्षमताबीच सहकार्य बढाउने प्रविधि सम्झौता पनि भएको छ ।
बेलायती प्रधानमन्त्री कार्यालयका अनुसार जापानी कम्पनीहरू मित्सुबिसी एस्टेट, मित्सुई फुडोसान र नोमुरा रियल एस्टेट लगायतले आगामी पाँच वर्षमा पूर्वाधार र घरजग्गा परियोजनाहरूमा अर्बौँ पाउन्ड लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रकाशित मिति: १ असार २०८३, सोमबार
















