स्वास्थ्य बिमा दाबीबापत थप रु ९१ करोड भुक्तानी प्रक्रिया अघि बढ्यो
काठमाडौँ, २ असार । स्वास्थ्य बिमा बोर्डले देशभरका २०२ सेवा प्रदायक अस्पताललाई स्वास्थ्य बिमा दाबीबापत थप रु ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बिमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार गत जेठको दोस्रो साता स्वास्थ्य बिमा दाबीबापत रु एक अर्ब तीन करोड २४ लाख ७७ हजार भुक्तानी गरिएको थियो। यस्तै, विपन्न नागरिकको औषधि उपचार खर्चबापत जेठ २१ गते रु ३२ करोड १३ लाख ६ हजार र जेठ २७ गते थप रु २७ करोड ३७ लाख ७८ हजार भुक्तानी गरिएको थियो।
मन्त्रालयका अनुसार गत मङ्सिरसम्मको बिमा दाबीमध्ये करिब रु सात अर्ब भुक्तानी हुन बाँकी छ भने पुसदेखि असारसम्मको दाबी भुक्तानीका लागि थप रु १४ अर्ब ५० करोड आवश्यक पर्ने अनुमान गरिएको छ।
सहप्रवक्ता अधिकारीले सरकारले विगतदेखि बाँकी रहेका बिमा दाबी तथा विपन्न नागरिकको औषधि उपचार खर्च भुक्तानीलाई उच्च प्राथमिकतामा राखेर आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको बताए।
प्रकाशित मिति: २ असार २०८३, मंगलबार












