निश्कल राईको कटाक्ष- चिया पिउन भ्याउने प्रधानमन्त्रीले चिया उद्योग बन्द हुँदा फुर्सद पाउनुभएको छैन



काठमाडौं। नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद राईले भारतमा चिया निर्यातमा देखिएको समस्याका कारण इलामका चिया उद्योग बन्द भएका भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

भारतीय चिया बोर्डले नयाँ मापदण्ड लागू गरेको र नेपाली चियाको गुणस्तरको रिपोर्ट नआएसम्म चिया बेच्न नपाइने व्यवस्थाले चिया किसानहरुले उद्योगमा ताला झुण्डाउनुपर्ने अवस्था आएको उनले बताए।

उनले प्रधानमन्त्रीलाई चिया पसलमा गएर चिया पिउन फुर्सद भएपनि अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न फुर्सन नभएको उल्लेख गरे।

राईले भने- ‘भारतीय चियाँ बोर्डले एसओपी नामक नयाँ मापदण्ड लिएको छ । उनीहरूको मापदण्डभित्र नपरे चियाँ नष्ट गर्नुपर्नेसम्मको प्रावधान छ । जसका कारण इलाममा ८३ वटा भन्दा बढी चिया उद्योगमा किसानहरूले करिब ३ दिनदेखि ताला झुन्ड्याएका छन् । बन्द गरिएका छन् । तर यति संवेदनशील विषयमा सरकारको ध्यान पटक्कै गएको छैन ।’

यही सन्दर्भलाई जोड्दै राईले प्रधानमन्त्री बालेन्द्र शाहले चिया पिउन भ्याए पनि चिया उद्योगी र किसानका समस्या समाधानमा भने फुर्सद नपाएको भन्दै टिप्पणी पनि गरे।

उनले थप भने- ‘हुन त सम्माननीय प्रधानमन्त्रीज्यूले चिया पसलमा गएर चिया पिउन पनि भ्याउनुभयो । तर अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको चिया उद्योगी को समस्या समाधान गर्न उहाँले फुर्सद पाउनुभएको देखिएको छैन ।’

केहीदिन अघि प्रधानमन्त्री बालेन चिया पिउन संखमुलस्थित रास्वपा सांसद केपी खनाले सञ्चालन गरेको चियादानि पुगेका थिए ।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्