होर्मुज जलमार्ग बन्द हुँदा १,२०० भन्दा बढी जहाज प्रभावित



लन्डन, १० असार । स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा १२५ अर्ब अमेरिकी डलर बराबरका सामान बोकेका एक हजार २०० भन्दा बढी मालवाहक जहाज प्रभावित भएको जनाइएको छ ।

बेलायती दैनिक फाइनान्सियल टाइम्स ले बीमा कम्पनी एलियान्जको प्रतिवेदन उद्धृत गर्दै जलमार्ग बन्द भएपछि ठूलो परिमाणमा समुद्री ढुवानी प्रभावित भएको जनाएको छ ।

एलियान्जका समुद्री प्रमुख जस्टस हेनरिकले जलमार्ग बन्द हुँदा बीमा कम्पनीहरूको जोखिम व्यवस्थापन र दाबी मूल्याङ्कन प्रणालीमा समेत प्रभाव परेको बताएका छन् ।

संयुक्त राज्य अमेरिका र इरानबीच सम्झौता भएपछि स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा आएको र ढुवानी गतिविधि क्रमशः सहज बन्दै गएको जनाइएको छ ।

आधिकारिक तथ्याङ्कअनुसार पछिल्लो साता खाडी क्षेत्रबाट ६९ वटा जहाज बाहिरिएका छन् । यो सङ्ख्या अघिल्लो साता २४ मात्र रहेको थियो । फेब्रुअरीमा द्वन्द्व सुरु भएयताकै सबैभन्दा उच्च साप्ताहिक ढुवानी गतिविधि यही रहेको बताइएको छ ।

द्वन्द्वका कारण मानवीय तथा आर्थिक क्षति पनि भएको छ । लामो समय समुद्रमा रोकिँदा चालक दलका सदस्यहरू थप समस्यामा परेका छन् ।

अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठनका अनुसार द्वन्द्वका क्रममा १४ जना जलयात्रीको मृत्यु भएको छ भने ४० भन्दा बढी जहाजमा क्षेप्यास्त्र आक्रमण भएको छ ।

होर्मुज जलमार्ग विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा देखिने कुनै पनि अवरोधले अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा आपूर्ति र समुद्री बीमा क्षेत्रमा प्रत्यक्ष असर पार्ने गर्दछ ।

प्रकाशित मिति: १० असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्