मकवानपुरका चार स्थानीय तहले ल्याए ३ अर्ब १६ करोडभन्दा बढीको बजेट
मकवानपुर, १० असार । मकवानपुरका चार स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक विकाससँगै पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेका छन् ।
बकैया, मनहरी, कैलाश र मकवानपुरगढी गाउँपालिकाले बुधबार बसेको गाउँसभामा आगामी आर्थिक वर्षको आय–व्यय अनुमानसहित बजेट प्रस्तुत गरेका हुन् । चारवटै गाउँपालिकाको कुल बजेट तीन अर्ब १६ करोड ६७ लाख ९९ हजार १२० रुपैयाँ रहेको छ ।
कैलाश गाउँपालिकाको बजेट ५५ करोड ८४ लाख
कैलाश गाउँपालिकाको १८औँ गाउँसभामा उपाध्यक्ष बालकुमार मल्लले ५५ करोड ८४ लाख ६९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।
विनियोजित बजेटमध्ये पूर्वाधार विकासतर्फ १५ करोड ७० लाख, सामाजिक विकासतर्फ २४ करोड, आर्थिक विकासतर्फ दुई करोड २१ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ७५ लाख ५४ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४३ लाख तथा प्रशासनिक खर्चतर्फ ११ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
बकैया गाउँपालिकाको बजेट ८९ करोड ५० लाख
बकैया गाउँपालिकाको १२औँ गाउँसभामा उपाध्यक्ष भक्तबहादुर खत्रीले ८९ करोड ५० लाख ४४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।
कुल बजेटमध्ये ६३ करोड ९३ लाख १९ हजार रुपैयाँ चालु खर्च र २५ करोड ५७ लाख २५ हजार रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ ।
गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा वातावरणमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको बताएका छन् ।
मनहरी गाउँपालिकाको बजेट ९८ करोड ५७ लाख
मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ९८ करोड ५७ लाख ६३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
उपाध्यक्ष सीता पुलामीमगरले प्रस्तुत गरेको बजेटमध्ये ३६ करोड २५ लाख रुपैयाँ पुँजीगत र ६२ करोड ३१ लाख रुपैयाँ चालु खर्चतर्फ विनियोजन गरिएको छ ।
गाउँपालिकाले नदीजन्य पदार्थ बिक्रीबाट मात्रै २६ करोड ७४ लाख ८२ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ ।
मकवानपुरगढी गाउँपालिकाको बजेट ७२ करोड ७५ लाख
मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ७२ करोड ७५ लाख २३ हजार १२० रुपैयाँको बजेट ल्याएको छ ।
उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले प्रस्तुत गरेको बजेटमध्ये ४३ करोड ९० लाख २३ हजार रुपैयाँ चालु खर्च र २८ करोड ८५ लाख रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ ।
गाउँपालिकाले सङ्घीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँट, आन्तरिक आय तथा गत वर्षको मौज्दातलाई बजेटको मुख्य स्रोतका रूपमा उल्लेख गरेको छ ।
जिल्लाका हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, इन्द्रसरोवर, बागमती र भीमफेदी गाउँपालिकाले यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन् । १० स्थानीय तहमध्ये राक्सिराङ गाउँपालिकाले मात्रै बजेट ल्याउन बाँकी रहेको छ ।
प्रकाशित मिति: १० असार २०८३, बुधबार












