भान्स र रुबियो इरान र लेबनान नीतिमा विभाजित हुन् ?
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानसँग गरेको समझदारी पत्र (एमओयू)को आलोचना भइरहेका बेला उपराष्ट्रपति जेडी भान्स उक्त सम्झौताको बचाउमा सक्रिय देखिएका छन् ।
इजरायल समर्थक राजनीतिज्ञहरू तथा आलोचकहरूले सम्झौताको विरोध गरिरहेका छन् । स्विट्जरल्यान्डमा इरानसँग भएको वार्ताको नेतृत्व गरेका भान्सले उक्त समझदारीलाई सकारात्मक प्रगतिको संज्ञा दिएका छन् । उनले अन्तिम सम्झौता सफल हुने दिशामा बलियो आधार तयार भएको बताएका छन् ।
a
भान्सले इजरायलले सार्वजनिक रूपमा उक्त सम्झौताको विरोध गरेको विषयमा कडा प्रतिक्रिया पनि दिएका छन् । उनले भने, ‘तपाईं ९० लाख जनसङ्ख्या भएको देश हुनुहुन्छ । तपाईंले सामना गरिरहेको हरेक राष्ट्रिय सुरक्षा समस्याको समाधान हत्या गरेर मात्रै सम्भव हुँदैन ।
यता, अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले भने इजरायलको सार्वजनिक रूपमा आलोचना गरेका छैनन् । बरु उनले इरानी सरकारको आलोचना गर्दै आएका छन् ।
भान्सको अभिव्यक्तिबारे प्रश्न सोधिँदा रुबियोले प्रत्यक्ष प्रतिक्रिया दिन अस्वीकार गरे र यस साता हिजबुल्लाहले इजरायली सुरक्षा चौकीमा गरेको आक्रमणको प्रसङ्ग उल्लेख गरे । यद्यपि, ह्वाइट हाउसले उपराष्ट्रपति भान्स र विदेशमन्त्री रुबियोबिच कुनै मतभेद नरहेको दाबी गरेको छ । विगतदेखि नै दुवै नेताका विदेश नीतिसम्बन्धी दृष्टिकोण फरक रहँदै आएको मानिन्छ ।
प्रकाशित मिति: १६ असार २०८३, मंगलबार












