गरिमा विकास बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि सिल्भर अवार्ड
काठमाडौँ, १७ असार । गरिमा विकास बैंक लिमिटेड उत्कृष्ट वार्षिक प्रतिवेदन (बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट–बीपीए) अवार्ड २०२५ अन्तर्गत विकास बैंक समूहमा सिल्भर अवार्डबाट सम्मानित भएको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व र सुशासनसम्बन्धी मापदण्डका आधारमा प्रदान गर्ने उक्त अवार्ड आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन मूल्याङ्कनपछि गरिमा विकास बैंकलाई प्रदान गरेको हो।
काठमाडौंमा आयोजित कार्यक्रममा आइक्यानका अध्यक्ष सिए निलबहादुर सारु मगरले बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र लेखा विभाग प्रमुख केशव तिमल्सिनालाई अवार्ड हस्तान्तरण गरे।
गरिमा विकास बैंकले यसअघि पनि विभिन्न राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ। बैंक न्यू बिजनेस एज लिमिटेडद्वारा आयोजित न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड्सको दशौँ संस्करणमा ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ तथा कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित कर्पोरेट बिजनेस अवार्ड एन्ड समिट २०२६मा विकास बैंकतर्फ ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’बाट समेत सम्मानित भएको थियो।
हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम तथा डिजिटल बैंकिङ सेवामार्फत करिब नौ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।
प्रकाशित मिति: १७ असार २०८३, बुधबार












