नेपाल टेलिकमका सिमकार्ड हुलाकमार्फत घरमै पुग्ने



काठमाडौँ, १८ असार नेपाल टेलिकमका सिमकार्ड तथा अन्य सामग्री अब हुलाक सेवामार्फत सेवाग्राहीको घरमै उपलब्ध हुने भएका छन्।

नेपाल टेलिकम र हुलाक सेवा विभागबीच बुधबार यससम्बन्धी सम्झौता भएको हो। सम्झौताअनुसार आगामी साउन १ गतेदेखि हुलाक सेवा विभागमार्फत नेपाल टेलिकमका सिमकार्ड, विभिन्न कागजात, चिठीपत्र, दूरसञ्चार सेवामा प्रयोग हुने स्पेयर पार्ट्सलगायत सामग्री ढुवानी गरिनेछ।

सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागका तर्फबाट महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरे।

निमित्त प्रबन्ध निर्देशक डंगोलले सेवाग्राहीलाई कार्यालयमा उपस्थित नभई विभिन्न सेवा उपलब्ध गराउने कार्यलाई कम्पनीले प्राथमिकतामा राखेको बताइन्। उनले हुलाक सेवा विभागसँगको सहकार्यबाट सेवाग्राही थप लाभान्वित हुने विश्वास व्यक्त गरिन्।

हुलाक सेवा विभागका महानिर्देशक पंगेनीले जनताको घरदैलोमा सेवा पुर्‍याउने सरकारी लक्ष्य कार्यान्वयनका लागि विभागले विभिन्न पहल गरिरहेको बताइन्। उनले नेपाल टेलिकमसँगको सहकार्य आगामी दिनमा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिन्।

सरकारी स्वामित्वका दुई संस्थाबीच भएको यस सहकार्यले हुलाक सेवाको देशव्यापी सञ्जाल उपयोग गर्दै नेपाल टेलिकमको सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्