त्रिभुवन विमानस्थलबाट ८२ लाख रुपैयाँ बराबरको सुन र चाँदी बरामद



काठमाडौँ, १८ असार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले करिब ८२ लाख रुपैयाँ मूल्य बराबरको सुन र चाँदी बरामद गरेको छ।

सुरक्षा कार्यालयका अनुसार असार १६ गते जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडाका रूपमा लुकाइछिपाइ ल्याइएको अवस्थामा बरामद गरिएका गरगहनाको परीक्षणका क्रममा ती सक्कली सुन र चाँदी भएको पुष्टि भएको हो।

काठमाडौँ सुनचाँदी व्यवसायी सङ्घ, क्षेत्रपाटीमा बिहीबार गरिएको परीक्षणबाट सुनजस्तो देखिने गरगहना सक्कली सुन र चाँदीजस्तो देखिने गरगहना सक्कली चाँदी भएको पुष्टि भएको सुरक्षा कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार बरामद गरिएको सुनको परिमाण २८५.१७८ ग्राम रहेको छ, जसको बजार मूल्य ६७ लाख ३४ हजार ३५० रुपैयाँ निर्धारण गरिएको छ। त्यसैगरी, तीन किलोग्राम ९१४.६५० ग्राम चाँदीको मूल्य १४ लाख ३८ हजार ४३ रुपैयाँ कायम गरिएको छ। बरामद गरिएको सुन र चाँदीको कुल मूल्य ८१ लाख ७२ हजार ३९३ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

वैध रूपमा खरिद गरिएको सुन तथा चाँदी कानुनी प्रक्रियाअनुसार भन्सारबाट ल्याउन सकिने व्यवस्था हुँदाहुँदै गार्मेन्टका सामानका रूपमा लुकाइछिपाइ कुरियरमार्फत ल्याउन खोजिएको अवस्थामा ती धातु बरामद गरिएको प्रहरीले जनाएको छ।

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक राजकुमार सिलवालले बरामद गरिएको सुन र चाँदी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको बताए।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्