बाढी–पहिरोले विभिन्न मुख्य राजमार्ग अवरुद्ध



काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग प्रभावित भएका छन्।

शुक्रबार बिहान ९ बजेसम्मको अद्यावधिक विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने कतिपय सडक एकतर्फी सञ्चालनमा रहेका छन्। केही स्थानमा भने सम्भावित जोखिमका कारण सवारी आवागमन नै रोकिएको छ।

कोशी प्रदेशमा भोजपुर नगरपालिका–७ स्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा छ। इलामको रोङ गाउँपालिका–३ राउतबारीस्थित मेची राजमार्ग तथा तेह्रथुमको म्याङ्लुङ नगरपालिका–६ सिम्ले क्षेत्रमा रहेको मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण एकतर्फी सञ्चालन भइरहेको छ।

बागमती प्रदेशमा काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी–नेपालथोक–धुलिखेल सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालन पूर्ण रूपमा रोकिएको छ। त्यस्तै, बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ कालढुंगा–चिसापानी क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा रहेको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ५ अन्तर्गत कुलेखानी–फाखेल–हुमाने–काठमाडौं सडकखण्डमा मर्मत कार्य भइरहेकाले अत्यावश्यक बाहेकका सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ पानीधारास्थित मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोको प्रभाव परे पनि यातायात सञ्चालन भइरहेको छ।

लुम्बिनी प्रदेशमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–३ डुंगेडाँडास्थित सन्धिखर्क–गोरुसिङ्गे सडकखण्ड पहिरोका कारण प्रभावित भएको छ। पाल्पाको तानसेन नगरपालिका–८ डुम्रे क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ।

यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका–९ रिम्जीखोला क्षेत्रमा अविरल वर्षापछि आएको बाढीले जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्