मन्त्री लम्सालको फेरी अर्को धम्की- काम नगर्ने प्रदेशका मन्त्री र मेयर थुन्छौं
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले काम नगर्ने प्रदेशमन्त्रीलाई थुन्ने भन्दै फेरी अर्को चेतावनी दिएका छन् ।
मन्त्री लम्साल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा आइतबार तनहुँ पुगेका थिए ।
सोही क्रममा मन्त्री लम्सालले शुक्लागण्डकी नगरपालिका-५, दुलेगौँडा स्थानीयहरुसँग कुरा गर्दै काम नगर्ने प्रदेशकामन्त्री र र मेयरलाई कारबाही गर्ने भन्दै चेतावनी दिएका हुन् ।
यसअघि नागढुंगा-मुग्लिन सडक आयोजनाको अनुगमनका क्रममा गत आइतबार पनि उनले काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँचिदिनुपर्ने’ अभिव्यक्ति दिएका थिए । अभिव्यक्तिका कारण उनको निकै आलोचना भएको थियो ।
उक्त आलोचनापछि पुन: उनले रुग्ण अवस्थामा रहेका मेची राजमार्ग, मध्यपहाडी राजमार्ग तथा तमोर करिडोर क्षेत्रको स्थलगत निरीक्षण गर्दै काम नगर्ने निर्माण व्यवसायीलाई कुटेर पनि काम लगाउन निर्देशन दिएका थिए ।
अहिले फेरि उनले प्रदेशका मन्त्री र मेयर नै थुन्ने चेतावनी दिएका हुन् ।
‘जसरी पनि काम गर्नु र हुनुपर्ने भन्दै मन्त्री लम्सालले भने यदि मेयरले जनताको काम गर्नुभएन हामीलाई जानकारी दिनुहोस्। आवश्यक कारबाही गर्छौं। प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने थुन्छौं ।
उनले जनतालाई दुःख दिने, सेवा प्रवाहमा बेवास्ता गर्ने वा आफ्नो जिम्मेवारी पूरा नगर्ने विषयमा जानकारी भए सम्बन्धित निकायमा सूचना दिन आग्रह पनि गरे ।
साथै जनताको पक्षमा इमानदारपूर्वक काम गर्न सबै जनप्रतिनिधि र पदाधिकारी जिम्मेवार हुनुपर्ने उनको भनाई थियो ।
प्रकाशित मिति: २२ असार २०८३, सोमबार












