सुडानमा ड्रोन आक्रमण : छुट्टाछुट्टै घटनामा २० जनाको मृत्यु



कायरो, असार २४ गते । सुडानमा सर्वसाधारणलाई लक्षित गरी भएका छुट्टाछुट्टै ड्रोन आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ। सुडानमा जारी द्वन्द्वका बीच मानवरहित विमान (ड्रोन) मार्फत हुने आक्रमण पछिल्लो समय बढ्दै गएको अधिकारवादी संस्थाहरूले जनाएका छन्।

सुडान डक्टर्स नेटवर्कका अनुसार बुधबार राजधानी खार्तुमको बाहिरी क्षेत्रमा विवाह समारोहमा जाँदै गरेका सर्वसाधारण चढेको सवारीसाधनमाथि ड्रोन आक्रमण हुँदा एउटै परिवारका पाँच महिलासहित १० जनाको ज्यान गएको हो।

उक्त आक्रमणको जिम्मेवार अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) रहेको चिकित्सा सहायता समूहले जनाएको छ। आक्रमणपछि सवारीसाधनमा आगलागी हुँदा त्यसमा सवार सबैको मृत्यु भएको बताइएको छ।

सुडान डक्टर्स नेटवर्कले सर्वसाधारणलाई लक्षित गरी योजनाबद्ध रूपमा आक्रमण गरिएको दाबी गर्दै यस्ता गतिविधि रोक्न आरएसएफ नेतृत्वमाथि अन्तर्राष्ट्रिय दबाब बढाउन आग्रह गरेको छ।

यस्तै, अधिकारवादी संस्था इमर्जेन्सी लयर्सका अनुसार मङ्गलबार नर्थ कोर्डोफान प्रान्तमा पानी आपूर्ति केन्द्र नजिकै भएको अर्को ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको छ।

त्यसअघि सोही प्रान्तको अल–शातउट क्षेत्रमा विवाह समारोहमा जाँदै गरेको सवारीसाधनमाथि गरिएको ड्रोन आक्रमणमा पाँच महिलासहित १३ जनाको ज्यान गएको थियो।

संस्थाका अनुसार पछिल्लो समय सर्वसाधारणलाई लक्षित ड्रोन आक्रमणको घटना निरन्तर बढिरहेका छन्।

संयुक्त राष्ट्रसङ्घले नर्थ कोर्डोफान क्षेत्रमा भएका आक्रमणबाट विद्युत् पूर्वाधार, आवासीय बस्ती, पुल तथा आपूर्ति मार्गमा समेत ठूलो क्षति पुगेको जनाएको छ।

सन् २०२३ को अप्रिलदेखि सुडानी सेना र र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)बीच जारी द्वन्द्वमा हालसम्म कम्तीमा ५९ हजार जनाको मृत्यु, करिब १ करोड ३० लाख मानिस विस्थापित तथा ३ करोडभन्दा बढी नागरिक मानवीय सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

प्रकाशित मिति: २४ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्