रेफ्रीको निर्णयप्रति इजिप्टको आपत्ति, फिफासँग छानबिन र कारबाहीको माग



काठमाडौं । इजिप्टियन फुटबल फेडेरेसनले अर्जेन्टिनाविरुद्धको विश्वकप अन्तिम १६ को खेल सञ्चालन गरेका रेफ्री टोलीमाथि छानबिन गरी विश्वकपबाट हटाउन फिफासँग माग गरेको छ।

फेडेरेसनले फिफामा औपचारिक उजुरी दर्ता गर्दै खेलका क्रममा रेफ्रीले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको हो।

खेलको दोस्रो हाफमा इजिप्ट १–० ले अग्रता लिइरहेका बेला मोस्टाफा जिकोले गरेको दोस्रो गोल भिडियो सहायक रेफ्री (VAR) को सिफारिसपछि रद्द गरिएको थियो। मुभको सुरुआतमै मिडफिल्डर मारवान अतियाले अर्जेन्टिनाका लिसान्ड्रो मार्टिनेजमाथि फल गरेको भन्दै रेफ्रीले गोल अमान्य ठहर गरेका थिए। यही निर्णय अहिले विवादको विषय बनेको छ।

यस्तै, अर्जेन्टिनाले निर्णायक ३–२ गोल गर्नुभन्दा केही क्षणअघि मोहम्मद सलाहलाई अर्जेन्टिनाको पेनाल्टी क्षेत्रमा फल गरिएको भन्दै इजिप्टले पेनाल्टीको दाबी गरेको थियो। तर रेफ्रीले खेल जारी राखेका थिए।

इजिप्टियन फुटबल फेडेरेसनका अध्यक्ष हानी अबु रिदाले फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्सियरविरुद्ध उजुरी दर्ता गराउँदै खेलका क्रममा भएका गम्भीर त्रुटि र दोहोरो मापदण्डका कारण इजिप्ट विश्वकपबाट बाहिरिनुपरेको दाबी गरेका छन्।

फेडेरेसनले घटनाको निष्पक्ष छानबिन गरी सम्बन्धित रेफ्री टोलीमाथि आवश्यक कारबाही गर्न फिफासँग आग्रह गरेको छ।

प्रकाशित मिति: २४ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्