एनसेल डाटा सेन्टरले प्राप्त गर्यो अन्तर्राष्ट्रिय टीआईए–९४२–सी प्रमाणीकरण
काठमाडौँ, २६ जेठ । एनसेल बिजनेसले ललितपुरको नख्खुस्थित आफ्नो अत्याधुनिक डाटा सेन्टरले प्रतिष्ठित ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रक्टेड फसिलिटी सर्टिफिकेशन’ प्राप्त गरेको जनाएको छ।
एनसेलका अनुसार उक्त अन्तर्राष्ट्रिय प्रमाणीकरणले डाटा सेन्टरको विश्वसनीयता, सुरक्षा तथा गुणस्तरका उच्च मापदण्ड पूरा गरेको पुष्टि गरेको छ। इन्टिग्रेटेड डाटा सेन्टरका रूपमा परिचित यो केन्द्र सरकारद्वारा सूचीकृत नेपालकै पहिलो डाटा सेन्टर तथा क्लाउड सेवा भएको कम्पनीले जनाएको छ।
प्रमाणीकरणले डाटा सेन्टरको संरचना ‘रेटेड ३’ मापदण्डअनुसार रहेको पुष्टि गरेको कम्पनीले जनाएको छ। यसले उच्च उपलब्धता, अतिरिक्त सुरक्षा प्रणाली तथा प्रतिकूल अवस्थाबाट छिटो पुनः सञ्चालनमा आउन सक्ने क्षमता सुनिश्चित गर्ने बताइएको छ। डाटा सेन्टर पूर्वनिर्धारित मर्मत वा आकस्मिक अवस्थाका समयमा पनि बिना अवरोध सञ्चालनमा रहन सक्ने र करिब ९९.९८२ प्रतिशत उपलब्धता कायम रहने जनाइएको छ।
यो मूल्याङ्कन तथा प्रमाणीकरण टेलिकम्युनिकेशन इन्डष्ट्री एसोसिएसन (टीआईए) बाट अधिकारप्राप्त संस्था डाटा सेन्टर मिडिया एलएलपीले गरेको हो।
एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यो उपलब्धि एनसेलका साथै नेपालको डिजिटल पूर्वाधार विकासका लागि पनि महत्वपूर्ण कोसेढुङ्गा भएको बताए। उनले नेपालबाट डिजाइन एन्ड कन्स्ट्रक्टेड फसिलिटीमा टीआईएको यस्तो प्रमाणीकरण प्राप्त गर्ने एनसेल डाटा सेन्टर पहिलो भएको उल्लेख गरे।
फोलेले विश्वस्तरीय डिजिटल पूर्वाधार उपलब्ध गराउने प्रतिबद्धताअनुरूप स्थानीय व्यवसाय तथा सरकारी निकायलाई सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न कम्पनी सक्षम रहेको बताए। संवेदनशील क्षेत्रका ग्राहकहरूले नेपालमै होस्ट गरिएका सुरक्षित तथा निरन्तर उपलब्ध सेवामा भरोसा गर्न सक्ने उनको भनाइ छ।
एनसेल डाटा सेन्टरले सूचना सुरक्षा र गोपनीयता व्यवस्थापनसम्बन्धी आईएसओ २७००१ र आईएसओ २७७०१ प्रमाणिकरण प्राप्त गरिसकेको छ। यसका साथै कम्पनीले आईएसओ ९००१ र आईएसओ १४००१ मान्यता पनि हासिल गरेको जनाएको छ।
कम्पनीका अनुसार नयाँ प्रमाणीकरणले बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, सरकारी निकाय, साना तथा मझौला उद्यम र ठूला व्यवसायलाई सुरक्षित तथा भरपर्दो डिजिटल सेवा उपलब्ध गराउने क्षमतामा थप अभिवृद्धि गरेको छ। यसले बैंकिङ कारोबार, इन्टरप्राइज रिसोर्स प्लानिङ प्रणाली तथा अन्य अनलाइन सेवाहरूको डाउनटाइम न्यून गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
एनसेलले रेटेड ३ डिजाइनमा आधारित संरचनाले अतिरिक्त सुरक्षा प्रणाली, बलियो ब्याकअप व्यवस्था तथा विपद् पुनःस्थापनाको क्षमता प्रदान गर्ने जनाएको छ। यसले साइबर आक्रमण, प्राकृतिक विपत्ति वा अन्य आकस्मिक अवस्थाका बेला पनि सेवा सञ्चालन निरन्तर राख्न सहयोग गर्ने कम्पनीको दाबी छ।
कम्पनीले यो प्रमाणीकरणले नेपालको डिजिटल रूपान्तरण अभियानलाई समेत टेवा पुर्याउने बताएको छ। महत्वपूर्ण डाटा स्वदेशमै सुरक्षित रूपमा भण्डारण गर्न सकिने, विदेशी पूर्वाधारमाथिको निर्भरता घट्ने तथा नेपाललाई उदीयमान डिजिटल हबका रूपमा स्थापित गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।
प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार
















