स्वीट्जरल्यान्डमा हुने अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा नेपालका आठ विद्यार्थी सहभागी हुँदै
काठमाडौँ, २२ असार । स्वीट्जरल्यान्डमा हुने अन्तर्राष्ट्रिय ‘एआई फर गुड, रोबोटिक्स फर गुड युथ च्यालेन्ज–२०२६’ मा सहभागी हुन नेपालबाट आठ जना विद्यार्थी छनोट भएका छन्।
स्वीट्जरल्यान्डको जेनेभामा जुलाई ७ देखि ११ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि सिनियर र जुनियर समूहबाट चार–चार जना विद्यार्थी छनोट गरिएको हो।
रोबोटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष इन्जिनियर विकास गुरुङका अनुसार जुनियर समूहबाट रिद्धि मानन्धर, आरोन भट्ट, निर्भाना सिंह रायमाझी र सिवाली पराजुली छनोट भएका छन्।
त्यसैगरी, सिनियर समूहबाट आरव गौतम, सुषान्त गौतम, समीप खतिवडा र अब्रिया श्रेष्ठ छनोट भएका छन्।
छनोट भएका विद्यार्थी आइतबार प्रतियोगितामा सहभागी हुन स्वीट्जरल्यान्ड प्रस्थान गरिसकेका छन्। उनीहरूसँगै दुवै समूहका लागि एक–एक जना मेन्टर र एक जना व्यवस्थापक पनि गएको अध्यक्ष गुरुङले बताए।
एसोसिएसनका अनुसार यस वर्ष राष्ट्रिय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका आधारमा नेपाली टोली चयन गरिएको हो।
नेपालले गत वर्ष यही प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेको थियो। जुनियर समूहमा रजत पदक (दोस्रो स्थान) र सिनियर समूहमा कांस्य पदक (तेस्रो स्थान) जित्दै नेपालले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेको थियो। यस वर्ष पनि नेपाली टोलीले सो उपलब्धिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २२ असार २०८३, सोमबार












