गणेश नेपालीका परिवारलाई महानगरले रोजगारी दिने
काठमाडौँ । हिजो राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्दा गम्भीर भई आज उपचारका क्रममा निधन भएका गणेश नेपालीका परिवारलाई काठमाडौँ महानगरपालिकाले रोजगारी उपलब्ध गराउने भएको छ।
महानगरले आज साँझ विज्ञप्ति जारी गरी उनका परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा दिने जानकारी गराउँदै सो सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिने उल्लेख गरेको छ।
यस घटनाको निष्पक्ष छानबिन गर्न नेपाल सरकार, गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने निर्णय गरेको भन्ने जानकारी सञ्चारमाध्यम मार्फत् प्राप्त हुन आएको जानकारी गराउँदै महानगरले उक्त समितिको तथ्यगत छानबिनमा काठमाडौँ महानगरपालिकाले पूर्णरुपमा सहयोग गर्ने उल्लेख गरेको छ।
छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदमहरू चाल्ने महानगरले बताएको छ।
महानगरपालिका नेपाल सरकारसँगको समन्वय र सहकार्यमा समाधानका उपाय पहिचान गर्न, यस्ता घटना दोहोरिन नदिन र असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजान तयार छ।
यस संवेदनशील अवस्थामा संयमित रहन र धैर्य धारण गर्न पनि अपिल गरेको छ।
प्रकाशित मिति: २७ असार २०८३, शनिबार










