मोरङमा किशोरको शव उठाउने क्रममा तनाव, प्रहरीले अश्रुग्यास प्रहार
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१८, भेडियारीमा मृतक किशोरको शव उठाउने क्रममा शुक्रबार केहीबेर तनाव उत्पन्न भएको छ। स्थानीयवासीले शव उठाउन अवरोध गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कविता कटवालका अनुसार भेडियारीका १७ वर्षीय मञ्जितकुमार यादवको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि कोसी अस्पताल लैजान खोज्दा आफन्त र स्थानीयवासीले अवरोध गरेका थिए।
दोषी प्रहरीमाथि कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै प्रदर्शन भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गरेको एसपी कटवालले बताउनुभयो।
उहाँका अनुसार नेपाल प्रहरीले १० र सशस्त्र प्रहरीले ११ गरी कुल २१ सेल अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनका क्रममा भएको ढुङ्गामुढाबाट सशस्त्र प्रहरीका निरीक्षक तारानाथ गौतम र नेपाल प्रहरीका जवान दिलीप आचार्य सामान्य घाइते भएका छन्। दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा अवाञ्छित गतिविधि गरेको आरोपमा जहदा गाउँपालिका–१ का २१ वर्षीय राजदीप यादवलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मञ्जितकुमार यादवको शव शुक्रबार बिहान स्थानीय पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको थियो। हाल पोस्टमार्टमका लागि शव कोसी अस्पतालमा राखिएको छ।
प्रहरीका अनुसार गत बुधबार अस्थायी प्रहरी पोस्ट भेडियारीबाट खटिएको टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्न खोज्दा चालक मोटरसाइकल छाडेर भाग्ने क्रममा पोखरीमा हामफालेका थिए। मोटरसाइकलमा पछाडि सवार भारतको सुपौल जिल्ला गनौरा पञ्चायत–५ निवासी ४१ वर्षीय शिवधर यादवलाई प्रहरीले पक्राउ गरेको थियो। उहाँको साथबाट ६ किलो १३० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले पोखरीमा हामफालेका युवकको खोजी जारी राखेकै क्रममा शुक्रबार बिहान शव फेला परेको जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार










