इरानी पत्रिकाद्वारा विदेशी नेताको नामसहित ‘बदला सूची’ सार्वजनिक



तेहरान । इरानको रूढीवादी पत्रिका ‘हमशहरी’ ले दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याको बदलास्वरूप लक्षित गरिने भन्दै अमेरिकी, इजरायली तथा युरोपेली नेताहरूको नाम समावेश गरिएको सूची सार्वजनिक गरेको छ।

गत फेब्रुअरी २८ मा भएको अमेरिकी–इजरायली आक्रमणमा खामेनीको मृत्यु भएपछि उनका छोरा तथा उत्तराधिकारी मोजताबा खामेनीले बदला लिने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसै साता सम्पन्न अन्त्येष्टिपछि जारी पहिलो सन्देशमा मोजताबाले “बदला लिनु हाम्रो राष्ट्रको चाहना हो र यो अवश्य कार्यान्वयन हुनेछ” भन्दै सूचीमा रहेका व्यक्तिहरूले आफ्नो ओछ्यानमै शान्तिपूर्ण मृत्युको अपेक्षा गर्न नसक्ने बताएका छन्।

तेहरान महानगरपालिकाको स्वामित्वमा प्रकाशित ‘हमशहरी’ ले शनिबार राति आफ्नो अनलाइन संस्करणमा मोजताबाको उक्त भनाइसँगै १३ विदेशी नेताको तस्बिर समावेश गरिएको ‘इन्फोग्राफिक’ सार्वजनिक गरेको हो।

यद्यपि, सर्वोच्च नेताको सन्देशमा लक्षित व्यक्तिको सूची तयार गरिएको उल्लेख भए पनि कुनै नाम सार्वजनिक गरिएको थिएन। पत्रिकाले सार्वजनिक गरेको सूचीलाई इरानी सरकार वा अन्य आधिकारिक निकायले अनुमोदन गरेको कुनै संकेत छैन। उक्त सूची आइतबार प्रकाशित पत्रिकाको मुद्रित संस्करणमा पनि समावेश गरिएको छैन।

पत्रिकाले सार्वजनिक गरेको सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, बेलायती प्रधानमन्त्री केयर स्टार्मर, अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी तथा जर्मनीका चान्सलर फ्रेडरिक मर्जलगायतका नेताहरू समावेश छन्।

युद्धका क्रममा इरानले युरोपेली मुलुकहरूले आफ्नो भूमिमाथि भएका आक्रमणको निन्दा नगरेको तथा अमेरिकी सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिएर आक्रमणमा सहयोग गरेको आरोप लगाउँदै आएको छ।

समाचारअनुसार युद्ध सुरु भएयता मोजताबा खामेनी सार्वजनिक रूपमा देखिएका छैनन्। उनका पिता मारिएको आक्रमणमा उनी पनि घाइते भएका बताइएको छ।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्