नगरप्रहरी ट्राफिक व्यवस्थापनबाट पछि हट्दा काठमाडौंका फुटपाथ अस्तव्यस्त
काठमाडौँ । काठमाडौं महानगरपालिकाको नगरप्रहरीले ट्राफिक व्यवस्थापनको नियमित जिम्मेवारीबाट पछि हटेपछि राजधानीका सडक र फुटपाथ अस्तव्यस्त बनेका छन्।
गणेश नेपालीको आत्मदाह घटनापछि उत्पन्न परिस्थितिको प्रभावस्वरूप नगरप्रहरीले नियमित ड्युटी स्थगित गरेको हो। नगरप्रहरीसँगको विवादपछि नेपालीले आत्मदाहको प्रयास गरेका थिए। त्यसयता घटनालाई लिएर आलोचना भएपछि नगरप्रहरी सडकमा खटिन असुरक्षित महसुस गरिरहेको जनाएको छ।
नगरप्रहरीको अनुपस्थितिमा फुटपाथमा व्यवसायीले पुनः अतिक्रमण गर्न थालेका छन्। फुटपाथमा सामान बेच्ने, सडकमै जथाभावी सवारी पार्किङ गर्ने लगायतका गतिविधि बढेको देखिएको छ।
काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख विष्णु जोशीले पछिल्ला दुई दिनदेखि नियमित ड्युटी रोकिएको बताए। उनका अनुसार यसको प्रत्यक्ष असर फुटपाथ अतिक्रमण र अव्यवस्थित पार्किङमा देखिन थालेको छ।
उनले पछिल्लो घटनापछि उत्पन्न विवादका कारण नगरप्रहरीले आफूलाई असुरक्षित महसुस गरेको बताए। हाल नगरप्रहरीले कतै पनि नियमित रूपमा काम गरिरहेको छैन, जसका कारण सडक व्यवस्थापनमा समस्या बढेको छ।
नगरप्रहरीको सुरक्षाको सुनिश्चितता नभएसम्म काममा फर्किन नसकिने उनले बताए। यस विषयमा जिल्ला प्रशासन कार्यालयसँग वार्ता भइरहेको र आवश्यक निर्देशनको प्रतीक्षा गरिएको उहाँको भनाइ छ।
प्रकाशित मिति: २८ असार २०८३, आइतबार










