गणेश नेपालीका परिवारसँग नौ बुँदे सहमति, रोजगारी र छोरीको शिक्षाको जिम्मा महानगरले लिने
काठमाडौँ, २८ असार । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि ज्यान गुमाएका २५ वर्षीय गणेश नेपालीका परिवारसँग सरकार र काठमाडौँ महानगरपालिकाबीच नौ बुँदे सहमति भएको छ।
मुगुको सोरु गाउँपालिका–१ जवलधाराका गणेश नेपालीको असार २६ गते वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा मृत्यु भएको थियो।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल तथा पीडित परिवार र वार्ता समितिबीच आइतबार सहमति भएको हो।
सहमतिअनुसार मृतककी श्रीमती एकमाया नेपालीलाई योग्यता र क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिनेछ। साथै, उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च काठमाडौँ महानगरपालिकाले व्यहोर्ने व्यवस्था मिलाइने भएको छ।
यस्तै, मृतकको अन्त्येष्टिका लागि आवश्यक सम्पूर्ण व्यवस्था तथा काठमाडौँमा गरिने काजक्रियाको व्यवस्थापन पनि काठमाडौँ महानगरपालिकाले गर्ने सहमति भएको छ।
सहमतिअनुसार पीडित परिवार तथा आफन्तले मृतकको शव बुझ्ने, शव परीक्षण (पोस्टमार्टम) लगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्ने तथा अन्त्येष्टि सम्पन्न गर्ने जिम्मेवारी लिने भएका छन्।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार










