इरानमाथि अमेरिकाको हवाई आक्रामण
काठमाडौंः अमेरिकाले लगातार नवौँ रात इरानमाथि हवाई आक्रमण गरेको छ। होर्मुज जलमार्ग हुँदै सञ्चालन हुने व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्न प्रयोग भइरहेको इरानको सैन्य क्षमतालाई कमजोर पार्ने उद्देश्यले यो कारबाही गरिएको अमेरिकी सेन्ट्रल कमान्डले बताएको छ।
इरानी समाचार एजेन्सी तस्निमका अनुसार अमेरिकी सेन्ट्रल कमान्डले नयाँ आक्रमणको घोषणा गरेको केही समयपछि इरानका दुई प्रमुख बन्दरगाहसहित पाँचवटा सहरमा शक्तिशाली विस्फोटका आवाज सुनिएको अलजजिराले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मारिएका अमेरिकी सैनिकहरूको सम्मानमा अमेरिकाले इरानमाथि कडा हवाई आक्रमण गरिरहेको बताएका छन्।
विश्वकप फाइनल खेल हेरेर वासिंटन फर्कने क्रममा पत्रकारहरूसँग ट्रम्पले भने, ‘हामीले आज राति फेरि उनीहरूमाथि निकै ठूलो प्रहार ग¥यौँ। यो हाम्रा सम्भवतः तीनजना महान् देशभक्त सैनिकहरूको सम्मानमा गरिएको हो।’
इरानसँगको द्वन्द्वमा अमेरिकी सैन्य हताहतीबारे सोधिएको प्रश्नमा उनले दुःख व्यक्त गर्दै भने, ‘त्यहाँ ज्यान गुमाउनेहरू इरानले परमाणु हतियार बनाउन नसकोस् भनेर लडिरहेका थिए।’
प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार







