नागरिक एपसँग सहकार्य गर्दै एनएमबि बैंक, अब बैंकिङ फाराम अनलाइनमै सहज रूपमा भर्न सकिने
काठमाडौँ । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप सहज, सुरक्षित र छिटो बनाउन नेपाल सरकारको सूचना प्रविधि विभाग (DITT) सँग सहकार्य गरेको छ।
यस सहकार्यपछि एनएमबि बैंकका ग्राहकहरूले नागरिक एप मार्फत विभिन्न बैंकिङ सेवाका अनलाइन फारामहरू सहज रूपमा भर्न सक्नेछन्। यसबाट व्यक्तिगत विवरण पटक–पटक टाइप गर्नुपर्ने झन्झट हट्नुका साथै कागजी प्रक्रिया कम भई सेवा प्रवाह थप छिटो हुने बैंकले जनाएको छ।
बैंकका अनुसार ग्राहकको गोपनीयता र डेटा सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ। ग्राहकले नागरिक एपमार्फत अनुमति नदिएसम्म बैंकले कुनै पनि व्यक्तिगत विवरण हेर्न वा प्रयोग गर्न सक्ने छैन। प्राप्त जानकारी पनि आवश्यक सेवा प्रदान गर्ने प्रयोजनका लागि मात्र प्रयोग गरिने व्यवस्था गरिएको छ।
एनएमबि बैंकले यो सहकार्यलाई नेपालमा विकसित हुँदै गएको डिजिटल सार्वजनिक पूर्वाधारको प्रभावकारी उपयोगतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ। बैंकका अनुसार यस पहलले देशभरका नागरिकलाई अझ सुरक्षित, सरल र झन्झटमुक्त बैंकिङ सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ।
प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार







