सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध



सुनसरी । सुनसरीको दुई गाउँपालिकामा स्थानीय प्रशासनले ५ जना भन्दा बढी मानिस भेला हुने नदिने गरी निषेध आदेश जारी गरेको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सुनसरीको हरिनगर गाउँपालिका र देवानगन्ज गाउँपालिकामा निषेध आदेश जारी गरेका हुन् । निषेध आदेश सोमबार ७ बजेदेखि साँझ ७ बजेसम्म लागु हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै, स्थानीय प्रशासनले सुनसरीका ४ वटा बजारमा कर्फ्यु लगाएको छ । हरिनगरा बजार, घुटाहा बजार, कप्तानगन्ज, घुस्की र देवानगन्ज बजार क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ स्थित कप्तानगञ्जमा दुई समुदायको बिचमा झडप हुँदा १ जनाको मृत्यु भएको छ । गएराति भएको झडपमा परेर कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहताले ज्यान गुमाएका हुन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड र सशस्त्रका सुरक्षाकर्मीले ७ राउण्ड गोली चलाएको बताइएको छ । मेहतालाई सुरक्षाकर्मीले चलाएको गोली लागेको थियो । झडप हुँदा प्रहरीका इन्स्पेक्टर राकेश राई सहित १० जना प्रहरी र ५ जना सशस्त्रका सुरक्षाकर्मी घाइते भएका छन् ।

कप्तानगञ्ज स्थित मन्दिरमा ठुलो स्वरमा डिजे बजाएको विषयमा हिन्दु र मुस्लिमको बिचमा विवाद सुरु भएको थियो । त्यसअघि सो क्षेत्रको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झण्डा हटाएर हिन्दुको झण्डा राखेको विषयमा विवाद थप चर्किएको सुरक्षा अधिकारीहरू बताउँछन् ।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार