टेलिभिजन ड्रामामा देखिने भए क्रिस्टियानो रोनाल्डो
काठमाडौं । विश्व फुटबलका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोले खेल जीवनसँगै मनोरञ्जन क्षेत्रमा पनि नयाँ यात्रा सुरु गर्ने भएका छन्। उनी बेलायती फुटबलमा आधारित टेलिभिजन ड्रामा ‘डे वन्स’ का कार्यकारी निर्माता बन्ने भएका छन्।
म्यानचेस्टर युनाइटेड र रियल मड्रिडका पूर्व स्टार तथा हाल साउदी प्रो लिग क्लब अल–नासर र पोर्चुगल राष्ट्रिय टोलीका कप्तान रोनाल्डोले उक्त सिरिजमा अभिनयसमेत गर्ने भएका छन्। सिरिजमा आर्सनल तथा फ्रान्सका पूर्व स्ट्राइकर थिएरी हेन्री पनि देखिने भएका छन्।
रोनाल्डोले खेल जीवनपछि नयाँ क्षेत्रमा पाइला चाल्न लागेको बताउँदै यो आफ्नो लागि निकै उत्साहजनक अध्याय भएको बताएका छन्।
४१ वर्षीय रोनाल्डोले ‘डे वन्स’मा कार्यकारी निर्माता र कलाकार दुवै भूमिकामा काम गर्नेछन्। सिरिजले बेलायती फुटबल जगतका जटिल पक्षलाई एक प्रभावशाली फुटबल एजेन्टको कथामार्फत प्रस्तुत गर्नेछ।
यो सिरिज रोनाल्डो र बेलायती फिल्म निर्देशक म्याथ्यु भनले स्थापना गरेको यूआर–मार्भ स्टुडियोज अन्तर्गत निर्माण भइरहेको छ। म्याथ्यु भन ‘किङ्सम्यान’ र ‘किक–एस’ जस्ता चर्चित चलचित्रका निर्देशक हुन्।
म्याथ्यु भनले रोनाल्डोसँग मिलेर प्रेरणादायी कथा र फिल्म निर्माण गर्न उत्साहित रहेको बताएका छन्। उनले रोनाल्डोले मैदानमा सिर्जना गरेका उपलब्धि कुनै काल्पनिक कथाभन्दा कम नभएको उल्लेख गरेका छन्।
सिरिजमा पूर्व फ्रान्सेली स्टार थिएरी हेन्री पनि अभिनय गर्ने भएका छन्। फुटबल करियरमा फरक क्लबका प्रमुख प्रतिस्पर्धीका रूपमा चिनिएका रोनाल्डो र हेन्री पहिलो पटक एउटै मनोरञ्जन परियोजनामा सहकार्य गर्न लागेका हुन्।
द सनका अनुसार सिरिजको छायांकन उत्तर–पश्चिम लन्डनस्थित बार्नेट एफसीको मैदानमा सुरु भइसकेको छ। छायांकन गोप्य रूपमा अघि बढिरहेको पनि उल्लेख गरिएको छ।
ड्यामियन लुइस मुख्य भूमिकामा
‘डे वन्स’ वास्तविक फुटबलरको जीवनमा आधारित नभई स्ट्यान्ली डाल्टन नामका काल्पनिक फुटबल एजेन्टको कथामा केन्द्रित हुनेछ।
उक्त पात्रको भूमिका ‘होमल्याण्ड’ र ‘बिलियन्स’ सिरिजका चर्चित अभिनेता ड्यामियन लुइसले निर्वाह गर्नेछन्। सिरिजको अवधारणा चर्चित फुटबल एजेन्ट डारेन डेनले तयार गरेका हुन्। डेनले पनि परियोजनामा कार्यकारी निर्माताको भूमिका निभाएका छन्।
निर्माताहरूले ‘डे वन्स’ले आधुनिक फुटबल उद्योगको यथार्थपरक चित्रण गर्ने बताएका छन्। उनीहरूले यसलाई ‘टेड लासो’ शैलीको हास्यप्रधान कार्यक्रम नभई गम्भीर ड्रामाका रूपमा प्रस्तुत गरिने उल्लेख गरेका छन्, यद्यपि केही हास्य दृश्य पनि समावेश हुने जनाइएको छ।
सिरिजमा ड्यामियन लुइस, थिएरी हेन्रीसँगै बेलायती र्यापर डेभ र अभिनेत्री कार्लोट्टा बनाट पनि देखिने भएका छन्।
फुटबलबाहिर विभिन्न व्यावसायिक क्षेत्रमा लगानी विस्तार गरिरहेका रोनाल्डोका लागि यो परियोजना मनोरञ्जन उद्योगमा अर्को महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। हाल उनी सामाजिक सञ्जालमा एक अर्बभन्दा बढी फलोअर्स भएका विश्वकै प्रभावशाली खेल व्यक्तित्वमध्ये एकका रूपमा चिनिन्छन्।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार







