बागलुङमा बेपत्ता किशोर मृत फेला :आइफोन लुट्ने क्रममा हत्या भएको खुलासा
बागलुङ, साउन १० गते ।पश्चिम बागलुङको बडिगाड गाउँपालिकामा मृत अवस्थामा फेला पर्नुभएका १७ वर्षीय लजिन थापाको आइफोन मोबाइल लुट्ने उद्देश्यले आफ्नै साथीबाट हत्या भएको रहस्य खुलेको छ ।
गत साउन १ गते शुक्रबार साँझ सोही ठाउँका साथी असिम वनको जन्मदिन मनाउन भनि घरबाट निस्कनुभएका बडिगाड गाउँपालिका वडा नं। १ थानका लजिन थापा नौ दिनपछि शनिबार बिहान सवा नौ बजे सोही वडाको मनखोलामा मृत फेला पर्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
पक्राउ पर्नेमा बडिगाड–१ का २० वर्षीय रेमबहादुर बिक, सोही ठाउँका १९ वर्षीय सुदीप बिक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददि परियार छन्।
शव नभेटिएपछि व्यक्ति बेपत्ता पार्नेमा उनीहरु संलग्न भएको आशङ्कामा प्रहरीले पाँच दिन अघि नै पक्राउ गरेको थियो ।
अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेकोमा शनिबार मात्र शव भेटिएपछि प्रहरीले उनीलाई कर्तव्य ज्यान मुद्दा लगाउने तयारी गरेको प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँले बताउनुभयो ।
घटना हुनुअघि साथी असिम वनको जन्मदिन मनाउन लजिनसँगै सुदीप, रेम, ददिसहित ६ जनाले बडिगाड–१ स्थित दगाम्तुम्डाँडा प्राथमिक विद्यालयमा बसि शनिबार बिहान साढे २ बजेसम्म मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
‘‘शनिबार बिहान ४ बजे घर फर्किने क्रममा रेम, ददि र लजिनबीच आइफोनको विषयमा झगडा भएको देखिन्छ’’ प्रहरी उपरीक्षक प्रसाईंले पत्रकार सम्मेलनमा भन्नुभयो,‘‘आइफोन लुट्ने क्रममा लजिनमाथि मुक्का र ढुङ्गा प्रहार हुँदा ज्यान गएको देखिन्छ ।’’
कुटपिटबाट ज्यान गएपछि लजिनको साथमा रहेको मोबाइल लुटेर ददि र रेमबहादरले मनखोलामा लगेर शव लुकाएका थिए ।
शव लुकाएपछि मोबाइल साथमा राख्दा प्रहरीले शङ्का पाउने भन्दै लजिनकै साथ राखिदिएको समेत आरोपीले प्रारम्भिक बयानमा स्वीकारेको प्रहरी उपरीक्षक प्रसाईंले बताउनुभयो ।
काठमाडौँमा ठुलोबाबुसँग बसि साइपल कलेजमा अध्ययन गर्ने लजिन कक्षा ११ को परीक्षा सकेर नागरिकता बनाउने योजनासहित घर आउनुभएको थियो । लजिन बोमबहादुर थापा र देउमाया थापाका एक्ला छोरा हुनुहुन्छ ।
प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार







