सुनसरीको राजमार्ग क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु जारी
सुनसरी, ११ साउन । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि चर्किएको आन्दोलनले उग्र रूप लिएसँगै पूर्व–पश्चिम राजमार्ग प्रभावित बनेको छ। त्यसपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले राजमार्ग क्षेत्रमा समेत अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सोमबार साँझ सूचना जारी गर्दै राति ९ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्म कर्फ्यु लगाइएको जानकारी दिएका छन्।
प्रशासनले राजमार्गको सुरक्षा तथा सार्वजनिक सम्पत्तिको संरक्षणका लागि इनरुवा नगरपालिका–३ र ६ को सिमाना अन्तर्गतको घोपली टोलदेखि पश्चिममा कोशी ब्यारेजको पुलसम्म तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गबाट ५०० मिटर क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरेको जनाएको छ।
सूचनामा तोकिएको क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउलगायत गतिविधिमा पूर्ण रोक लगाइएको उल्लेख गरिएको छ।
कर्फ्यु आदेश उल्लंघन गर्ने व्यक्तिलाई एक हजार रुपैयाँसम्म जरिवाना तथा एक महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी प्रशासनले दिएको छ।
आइतबार राति कप्तानगञ्जमा भएको झडप र प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएपछि आक्रोशित समूहले सोमबार दिनभर सुनसरीका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले लौकी, भोक्राहा र इनरुवा क्षेत्रमा राजमार्ग अवरुद्ध गर्दै टायर बालेर प्रदर्शन गरेका थिए।
राजमार्ग क्षेत्रमा प्रदर्शनका क्रममा सवारीसाधनमा तोडफोडको अवस्था सिर्जना भएपछि कर्फ्यु जारी गरिएको प्रशासनले जनाएको छ।
यसअघि नै देवानगञ्ज र हरिनगर गाउँपालिकाका पाँच प्रमुख बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो। राजमार्ग क्षेत्रमा समेत कर्फ्यु लागू भएपछि सुनसरीको मुख्य यातायात तथा बजार गतिविधि प्रभावित हुने देखिएको छ।
प्रशासनले राजमार्गमा रोकिएका सवारीसाधनलाई सुरक्षा व्यवस्थासहित गन्तव्यतर्फ पठाउने तयारी भइरहेको जनाएको छ।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार







