सहमतिपछि डा. गोविन्द केसीले तोडे अनशन, यस्ता छन् सहमति



काठमाडौं, ११ साउन । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै धनगढीमा अनशनरत डा. गोविन्द केसीले सरकारसँग सहमति भएपछि अनशन तोडेका छन्।

बिहीबारदेखि अनशनमा रहेका डा. केसीसँग वार्ताका लागि सरकारी टोली शनिबार धनगढी पुगेको थियो। सरकार र डा. केसी पक्षबीच सहमति जुटेपछि उनले अनशन तोडेका हुन्।

डा. केसीले सेती प्रादेशिक अस्पतालमा बिरामी कुरुवा बसेका गौमुल गाउँपालिका–२ का चक्रबहादुर धामीको हातबाट जुस पिएर अनशन तोडे। धामी ८ वर्षीय बिरामी सुदिप कोइरालाका भिनाजु हुन्।

सहमतिअनुसार गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।

एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक प्राध्यापक, जनशक्ति भर्ना, पाठ्यक्रम स्वीकृतिलगायतका शैक्षिक तयारी शीघ्र पूरा गर्ने सहमति भएको छ।

त्यस्तै, ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण खरिद तथा अस्पताल सञ्चालनसम्बन्धी सम्पूर्ण पूर्वाधारको व्यवस्था तत्काल मिलाइने सहमतिमा उल्लेख गरिएको छ।

सहमतिअनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ लाई समेत समेटेर विश्वविद्यालयका पदाधिकारीको योग्यता, नियुक्ति तथा अन्य व्यवस्थासम्बन्धी संशोधन प्रक्रिया संघीय संसद्को चालु अधिवेशनबाटै अगाडि बढाउन नेपाल सरकारसमक्ष प्रस्ताव पेश गरिने भएको छ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४७ अनुसार चिकित्सा शिक्षण संस्थालाई क्रमशः गैरनाफामूलक तथा सेवामूलक संस्थाका रूपमा सञ्चालन गर्ने प्रावधान कार्यान्वयनका विषयमा अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने सहमति पनि भएको छ। उक्त कार्यदलले छ महिनाभित्र राय, सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी शिक्षा तथा खेलकुद मन्त्रालयले नेपाल सरकारसमक्ष प्रस्ताव पेश गर्ने उल्लेख गरिएको छ।

सरकार र डा. केसी पक्षबीच भएको सहमतिसँगै पाँच दिनदेखि जारी अनशन अन्त्य भएको छ।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार