देवानगञ्ज घटनामा वार्ता र संवादबाट समाधान खोज्न मानव अधिकार आयोगको आग्रह
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न विवादलाई शान्तिपूर्ण रूपमा वार्ता र संवादमार्फत समाधान गर्न तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।
देवानगञ्जमा दुई समुदायबीच भएको विवादलाई लिएर आयोगले राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी तथा सर्वसाधारणलाई संयमित रहँदै संवादको माध्यमबाट समाधान खोज्न अनुरोध गरेको छ।
आयोगले सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसपछि प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाबारे प्रारम्भिक अनुगमन भइरहेको जनाएको छ। आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले घटनासम्बन्धी तथ्य सङ्कलन गरिरहेको उल्लेख गरेको छ।
आयोगले प्रमुख जिल्ला अधिकारी, सुनसरीका प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयसँग घटनाबारे जानकारी लिइरहेको जनाएको छ। साथै घटनाको मानव अधिकारका दृष्टिकोणबाट सूक्ष्म अनुसन्धान सुरु गरिसकेको उल्लेख गरेको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा घटनापछि देखिएको शान्ति सुरक्षाको अवस्थालाई थप मजबुत बनाउन सरकारलाई आग्रह गरिएको छ।
आयोगले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको जनाएको छ।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार







