डा. गोविन्द केसी र सरकारबीच सहमति, अनशन तोड्ने तयारी



काठमाडौं, ११ साउन । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै अनशनरत डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ। सहमति भएसँगै डा. केसीले केहीबेरमा अनशन तोड्ने भएका छन्।

शिक्षा मन्त्रालय स्रोतका अनुसार वार्तामा दुवै पक्षबीच सहमति जुटेको छ। सहमतिका विस्तृत बुँदाहरू भने सार्वजनिक हुन बाँकी रहेका छन्।

स्रोतले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको पहलबाट वार्ता सफल भएको बताए। मन्त्री पोखरेलले सुरुदेखि नै डा. केसीका माग सम्बोधनका लागि समन्वय र सहकार्य गरेका थिए।

स्रोतका अनुसार डा. केसी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रारको राजीनामाको अडानबाट पछि हटेका छन्। त्यसपछि दुवै पक्षबीच सहमति जुटेको बताइएको छ।

यसअघि मन्त्री पोखरेलले डा. केसीका कारण चिकित्सा शिक्षामा महत्वपूर्ण सुधार भएको उल्लेख गर्दै उनका जायज मागहरू सम्बोधन गरिने बताएका थिए। उनले मन्त्रालयमा भएको छलफलका क्रममा पनि सो प्रतिबद्धता व्यक्त गरेका थिए।

शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र सांसद पुकार बम वार्ताका लागि आइतबार धनगढी पुगेका थिए। आइतबार सहमति हुन नसके पनि सोमबार भने सहमति जुटेको हो।

मन्त्री पोखरेलले यसअघि डा. केसीसँग टेलिफोन वार्ता समेत गरेका थिए। सहमति भएपछि वार्ता टोलीका सदस्यहरू हस्ताक्षरका लागि सेती प्रादेशिक अस्पतालको आईसीयू कक्षमा पुगेको जनाइएको छ।

डा. केसी गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्ति खारेज गर्नुपर्ने, साथै विगतका सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राख्दै साउन ८ गतेदेखि धनगढीमा अनशनरत थिए।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार