देवानगञ्ज घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, सरकारसँग जवाफ माग



काठमाडौं, ११ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

सोमबार विज्ञप्ति जारी गर्दै थापाले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

विज्ञप्तिमा थापाले देवानगञ्जको घटनालाई दुःखद् भएको उल्लेख गरेका छन्। उनले सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ संयमित, सतर्क र जिम्मेवार हुनुपर्ने बताएका छन्।

थापाले सरकारसँग नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भनेर प्रश्न गरेका छन्। परिस्थितिको समयमै आकलन गरी घटना हुन नदिन पर्याप्त समन्वय, सुरक्षा सजगता र सतर्कता अपनाउनुपर्नेमा ज्यान जाने अवस्था सिर्जना हुनु दुःखद् भएको उल्लेख गरेका छन्।

उनले सामाजिक सद्भाव तथा शान्ति सुरक्षालाई कायम राख्न सम्बन्धित सबै पक्षलाई जिम्मेवार र संयमित ढङ्गले प्रस्तुत हुन आग्रह गरेका छन्।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार