त्रिविको प्रश्नपत्र आउट प्रकरणमा थप दुईजना पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र आउट प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमालका ३१ वर्षीय अब्दुल सानी हाकिम लाई पक्राउ गरेको हो। मिश्रलाई आइतबार काठमाडौंको ताहाचलबाट तथा हाकिमलाई सोमबार वीरगञ्जबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।
गत शुक्रबार सञ्चालन भएको त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको ‘संगठनात्मक व्यवहार’ विषयको परीक्षाको प्रश्नपत्र विभिन्न व्हाट्सएप समूहमार्फत सार्वजनिक भएपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो। प्रश्नपत्र परीक्षाअघि नै बाहिरिएको भन्दै प्रहरीले गोपनीयता भंग भएको विषयमा अनुसन्धान अघि बढाएको हो।
अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने कार्यमा उनीहरूको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसअघि साउन १० गते कैलालीको घोडाघोडी नगरपालिका–११ घर भई हाल भक्तपुर बस्दै आएका ३३ वर्षीय सन्दीप सिंह लाई पनि प्रहरीले पक्राउ गरेको थियो। यससँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ।
सीआईबीका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध शिक्षा ऐनअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ। साथै, प्रश्नपत्र आउट प्रकरणमा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान पनि जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार







