Deshko News
१३ आश्विन २०८०, शनिबार

अरब राष्ट्रद्वारा कतारसँग कुटनैतिक सम्बन्ध विच्छेद गरेको घोषणा



रियाद (साउदी अरब), २३ जेठ

साउदी अरब इजिप्टसहितका केही अरब राष्ट्रले सोमबारदेखि कतारसँगको कुटनैतिक सम्बन्ध तोडेको बताएका छन् ।

आतङ्कवादलाई सघाएको र अरब क्षेत्रमा शान्ति तथा अमन चैन समस्या ल्याएको आरोप लगाउँदै साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगको आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन् ।

इजिप्टसहित अरब राष्ट्रका विभिन्न छ मुलुकले आफ्ना यातायातका सेवालाई पनि कतारबाट अलग बनाउने जनाएपछि पेट्रोलियम पदार्थका लागि धनी राष्ट्र कतारलाई समस्या परेको देखिएको छ । कतारले अधिकांश सामान यी राष्ट्रबाट वा यिनै मुलुक भएर भित्र्याउने गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गरी रियादले कतारले आतङ्कवादी समूह र पृथकतावादी कट्टरपन्थी मुसलमानलाई सघाउँदा समग्र अरब क्षेत्रको शान्ति तथा सुरक्षामा समस्या आएको जनाएको छ । अरबले मुस्लिम ब्रदरहुड दाएस (आईएस) र अल कायदा समूहलाई सहयोग गरिरहेको अरबको आरोप छ ।

यसैबीच कतारले आतङ्कवाद वा इरानलाई सघाउने गरी आफ्नो मुलुकबाट कुनै पनि गतिविधि नभएको बताउँदै कतारमाथि लगाइएका सबै आरोपको खण्डन गरेको छ ।

छिमेकी अरब राष्ट्रहरुले लगाएको आरोपको खण्डन गर्दै कतारी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी कतारमाथि लगाइएका आरोप तथ्यमा आधारित नरहेका तर झुटा र आधारहीन दाबीमात्र भएको जनाएको छ ।

सम्बन्ध विच्छेद गराउनुको अर्थ कतारलाई अरूमाथि निर्भर बन्ने अवस्थाको सिर्जना गर्नु रहेको बताउँदै कतारी प्रशासनले आवश्यक पर्ने सबै उपायलाई अवलम्बन गरी अघि बढ्ने बताएको छ ।

कतार पछिल्लो निर्णयबाट आफूमाथि पर्नसक्ने सबै प्रभावलाई साम्य गर्दै अघि बढ्नेछ, विज्ञप्तिमा भनिएको छ । कतारले आफ्नो समाज र अर्थतन्त्रलाई तहसनहस पार्ने षडयन्त्रबाट अरब राष्ट्रहरुको पछिल्लो निर्णय आएको दाबी गरेको छ ।

 

इरान र टर्कीद्वारा समस्यालाई वार्तामार्फत् समाधान गर्न आग्रह

इरानले कतार र अन्य अरब मुलुकवीच देखिएकोे समस्या राजनैतिक वार्ता र शान्तिपूर्वक समाधान गर्न दुवै पक्षवीच सम्वाद गर्न आग्रह गरेको छ ।

कतार लगायत अन्य अरवमुलुकसँग सुमधुर सम्वन्ध भएको अर्को मुलुक टर्कीले अरव क्षेत्रमा देखिएको पछिल्लो समस्या समाधान गर्न टर्की तत्पर रहेको जनाएको छ ।

पछिल्लो समय देखिएको समस्यालाई सामान्य बनाउन इश्तानबुलले कुनै किसिमको सहयोग गर्ने टर्कीका विदेश मन्त्री मेभलुट कभुसोग्लुले अन्तराष्ट्रिय सञ्चारमाध्यमलाई जनाउनु भएको छ । एएफ्पी

प्रकाशित मिति: २३ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News