Deshko News
१३ आश्विन २०८०, शनिबार

भूकम्पपीडितलाई अनुदानमा कृषि उपकरण



धनकुटा, जेठ २७

प्रविधियुक्त आधुनिक कृषि प्रणालीको प्रयोगबाट कृषि उत्पादन बढाउन जिल्ला कृषि विकास कार्यालयले भूकम्पपीडित किसानलाई अनुदानमा कृषि औजार उपकरण वितरण गरेको छ ।

धनकुटा जिल्लाका विभिन्न क्षेत्रका रातो परिचयपत्र पाएका भूकम्पपीडित किसानलाई कृषि विकास मन्त्रालयको सिफारिसमा राष्ट्रिय पुनःनिर्माण कोषमार्फत प्राप्त छ प्रकारका आधुनिक उपकरण वितरण गरिएको हो । जिल्लाका किसानहरुलाई एकसय ४६ थान कृषि औजार उपकरण ९० प्रतिशत सहुलियतमा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय धनकुटाले जनाएको छ ।

किसानका लागि छ थान खेत जोत्ने मिनी टिलर, पाँच थान धान तथा गहुँ झार्ने थ्रेसर मेसिन र १० थान कर्नसेलर मेसिन वितरण गरी त्यसको प्रयोगबारेमा ज्ञान दिइएको थियो ।

यसैगरी, विभिन्न ग्रामीण क्षेत्रका लागि ४२ थान प्लाष्टिक पोखरी बनाउने सामग्री र दुई हजार २४४ थान बीउबिजन भण्डारण गर्ने हार्भेस्टिङ्ग ब्याग र १० थान थोपा सिँचाइमा प्रयोग गरिने सामग्री वितरण गरेको कार्यालयका प्रविधिज्ञ सूर्य सापकोटाले बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालयमा आवेदन परेकामध्ये ७३ भूकम्पपीडितलाई प्राथमिकताका आधारमा त्यस्ता सामग्री वितरण गरिएको जनाइएको छ । प्रविधियुक्त ती कृषि उपकरणहरु २२ लाख ५८ हजार रुपैयाँ मूल्य बराबरको रहेको कृषि विकास कार्यालयका प्रमुख भरत बिडारीले जानकारी दिनुभयो ।

जिल्लामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा प्रमाणित सूचीमा रातो कार्ड प्राप्त दुई हजार ७९६ घरधुरी भूकम्पपीडित रहेका छन् । रासस

प्रकाशित मिति: २७ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News