Deshko News
१५ मंसिर २०८०, शुक्रबार

राजपाको चुनौतीसंगै सप्तरीमा सुरक्षा व्यवस्था कडा


 


सप्तरी, जेठ २७

आउँदो असार १४ हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि यस जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले अहिले निर्वाचन सहज रुपमा गर्न र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन विशेष सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।

सुरक्षाका लागि जिल्लाका विभिन्न चोक तथा बजारमा नेपाल प्रहरी तथा म्यादी प्रहरीलाई २४ सै घन्टा तैनाथ गरिएको प्रहरी उपरीक्षक एवम् प्रमुख अनुराग द्विवेदीले बताउनुभयो ।

जिल्लामा सुरक्षाका लागि २४ औँ घन्टा प्रहरीले जाँच र निगरानी गरिरहेको छ भने प्रहरीको मोबाइल गस्तीसमेत परिचालन गरिएको छ । यस्तै, इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमा थप जनशक्ति परिचालन समेत गरिएको छ ।

प्रहरी उपरीक्षक द्विवेदीका अनुसार प्रत्येक मतदानस्थलको निरीक्षण गरेर आवश्यकताअनुसार थप प्रहरी परिचालन गरिने छ । जिल्लाका अति संवेदनशील मतदान केन्द्रमा पाँच प्रहरी र नौ म्यादी प्रहरी तथा संवेदनशील मतदान केन्द्रमा चार प्रहरी र छ म्यादी प्रहरी खटाइने योजना छ ।

जिल्लामा २९२ मतदानस्थल राखिएका छन् जसमध्ये २०६ अति संवेदनशील र ८६ संवेदनशील मतदानस्थल रहेका छन् । त्यस्तै, ४६१ मतदान केन्द्रमध्ये ३२६ अति संवेदनशील र १३५ संवेदनशील रहेको बताइएको छ ।

यसैबीच, जिल्ला निर्वाचन कार्यालय सप्तरीले स्थानीय तह निर्वाचनको लागि सम्पूर्ण तयारी भइसकेको र प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतसमेत खटिसकेको जनाएको छ ।

तर राष्ट्रिय जनता पार्टीको आन्दोलन गर्ने घोषणाले यहाँका मतदातामा द्विविधा उत्पन्न गरिदिएको छ । जिल्लाका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता तोकिएको मितिमा निर्वाचन हुने वा नहुनेमा शङ्का व्यक्त गरिरहेका छन् ।

निर्वाचनबारे प्रतिक्रिया दिँदै राजपा सप्तरी जिल्ला संयोजक सुनिल झाले आफूहरुले उठाएको माग पूरा नभएसम्म निर्वाचन हुन नसक्ने दाबी गर्नुभयो । रासस

प्रकाशित मिति: २७ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्