Deshko News
१६ आश्विन २०८०, मंगलबार

चुनावमा उम्मेदवार बन्न महासंघबाट राजीनामा दिँदै पत्रकार



गाईघाट (उदयपुर), जेठ ३१

स्थानीय तहको चुनावमा कुनै पनि पदको उम्मेदवार बन्नका लागि पत्रकारले पत्रकार महासङ्घको पदाधिकारी भए अनिवार्य रुपमा राजीनामा दिनुपर्ने पत्रकार महासङ्घ केन्द्रीय कार्यालयले निर्देशन जारी गरेपछि उदयपुरमा केही पत्रकारले सङ्घको प्रतिनिधिबाट राजीनामा दिन थालेका छन् ।

नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरमा हालै सदस्य निर्वाचित भएका सङ्घका सदस्य सुपराज राईले मङ्गलबार सङ्घको वर्तमान कार्यसमितिको सदस्यबाट राजीनामा दिएको पत्रकार महासङ्घ उदयपुरले बताएको छ । राईले त्रियुगा नगरपालिका–१० बाट दोस्रो चरणमा हुन गइरहेको स्थानीय तहको चुनावमा वडा सदस्यको उम्मेदवार बनेपछि आफूले पत्रकार महासङ्घ केन्द्रको निर्देशनलाई पालना गर्दै राजीनामा दिएको बताउनुभएको छ ।

सङ्घका वर्तमान कार्यसमितिका अर्का सदस्य तथा रेडियो त्रियुगा एफएमका प्रमुख समाचारदाता ईश्वर बलाम्पाकी मगरले पनि राजीनामा दिने तयारीमा हुनुहुन्छ । मगरले त्रियुगा नगरपालिका–१६ बाट वडा सदस्य पदमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार दिने कारण सङ्घको केन्द्रीय नीति र निर्देशनलाई पालना गर्दै राजीनामा दिन लागेको बताउनुभयो ।

अन्यमा सङ्घका वर्तमान कार्यसमितिका अर्का सदस्य यमकुमार राईले पनि त्रियुगा नगरपालिका–७ खाँबुबाट वडाध्यक्षमा उम्मेदवार बन्ने र अर्का सङ्घका कोषाध्यक्ष विश्वराज तामाङले पनि त्रियुगा नगरपालिका–१० बाट वडा सदस्यको उम्मेदवार बन्नेभएका कारण अब राजीनामा दिनुपर्ने पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भरत खड्काले बताउनुभयो ।

सुपराज राई नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्यका उम्मेदवार बन्नुहुने भएको छ भने ईश्वर मलाम्पाकी मगर नेकपा (एमाले)बाट वडा सदस्यका उम्मेदवार हुन् ।

यस्तै, तामाङ र यमकुमार नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष र सदस्यका उम्मेदवार रहेको पनि सङ्घका अध्यक्ष भरत खड्काले बताउनुभएको छ ।

उदयपुरबाट चारजना पत्रकार स्थानीय तहको चुनावमा उम्मेदवार बनेका छन् । महासङ्घले महासङ्घमा आबद्ध प्रतिनिधि भए स्थानीय तहको चुनावमा उम्मेदवार बन्नका लागि अनिवार्य रुपमा राजीनामा दिनुपर्ने र दुई पदमा रहन नपाइने प्रावधान गरेपछि उदयपुरमा दश वर्षदेखि पत्रकारिता गर्दै आएका युवा पत्रकारले धमाधम पत्रकारिता पेसा छाडेर स्थानीय तहको उम्मेदवारीमा सहभागी हुँदै धमाधम राजीनामा दिन थालेको सङ्घका अध्यक्ष खड्काले बताउनुभयो । रासस

प्रकाशित मिति: ३१ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News