चन्द माअाेवादीले शुरु गर्यो चन्दा अातंक


 


खोटाङ, असार २३

नेकपा माओवादी विप्लव समूहले जिल्लाका विभिन्न सरकारी कार्यालयमा चन्दाको लागि उर्दी गरेको छ । दसवर्षे सशस्त्र सङ्घर्ष र उन्नाईस दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नयाँ अभियान सञ्चालन गर्ने भन्दै माओवादीले चन्दा उर्दी गरेको हो ।

महासचिव विप्लवद्वारा हस्ताक्षरित पत्रमा रकम भने नतोकिए पनि फोनबाट भने पटक–पटक मोलतोल गर्ने गरेको कार्यालय प्रमुखहरुले जनाएका छन् । उनीहरु भन्छन्, “पत्र आउनासाथ पटक–पटक फोन आइरहेको छ, कार्यालयबाट चन्दा दिने प्रावधान छैन । यसले गर्दा हामीलाई काम गर्न अप्ठ्यारो भएको छ ।”

प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले सरकारी कार्यालयमा चन्दा माग्ने कसैलाई पनि चन्दा नदिन कार्यालय प्रमुखलाई निर्देशन दिएको बताए ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई स्थापित गर्न आन्दोलन गर्नुपर्ने भएकाले जिल्लास्थित केही सरकारी कार्यालय र गाविससचिवसमक्ष सहयोग माग गरिएको माओवादी खोटाङका सचिव चन्द्रबहादुर बुढाथोकीले बताए । उनले भने, “हामीले जबर्जस्ती गरेका छैनौँ, स्वेच्छिक रुपमा सहयोग गर्न केही कार्यालय र गाविस सचिवलाई आग्रह गरेका हौँ ।”

माओवादीले जिल्लाका अन्य सङ्घसंस्था तथा सर्वसाधारणलाई भने चन्दा मागेका छैनन् । महिना दिनअघि सङ्गठन विस्तार गरेको माओवादीले जिल्लामा भ्रष्टाचार, घुस, बलात्कार, कालोबजारीलगायतलाई न्यूनीकरण गर्दै समृद्ध खोटाङ बनाउने बताएको थियो । रासस

प्रकाशित मिति: २३ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्