उग्र बन्दै दार्जिलिङ : दुई जनाको मृत्यु, सञ्चारमाध्यम समेत बन्द


 



दार्जिलिङ, असार ४
पश्चिम बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्टेटिभ (जिटिए) प्रमुख विमल गुरुङको दार्जिलङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि भड्किएको आन्दोलनले उग्र रुप लिएको छ ।

जसले गर्दा हिजो प्रहरीको गोली लागेर दुई जनाको मृत्यु समेत भएको छ । आजको अन्नपूर्ण पोष्टमा खबर छ । मोर्चाको आह्वानमा ‘चलो पातलेवाँस’ अभियानको दोस्रो दिन नारी मोर्चाले गरेको डन्डी प्रदर्शनमा हस्तक्षेप गरेपछि भड्किएका कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।

मोर्चा कार्यकर्तालाई नियन्त्रण गर्ने क्रममा प्रहरीले दार्जिलिङको बिजनवारीनजिक गोली चलाउँदा दुई जनाको मृत्यु भएको हो । बिजनवारीका दली सुब्बा र लाक्पा शेर्पाको मृत्यु भएको मोर्चा नेत्री निरा शर्माले जानकारी दिनुभयो ।

बंगाल प्रहरीले बिहानैदेखि नाराबाजीसहित दार्जिलिङ सहर प्रवेश गर्ने मोर्चाका कार्यकर्तालाई रोक्न विभिन्न नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । मोर्चा महासचिव रोशन गिरीले बंगाल प्रहरीले चार जनाको हत्या गरेको आरोप लगाउनुभएको छ ।

आन्दोलन चर्किएपछि बंगाल सरकारले स्थानीय टेलिभिजन च्यानल बन्द गराएको छ । बंगाल सरकारले हिमाली, डीटीभीलगायत च्यानल बन्द गराएको हो ।

प्रहरीले पत्रकार विक्रम राईलाई पक्राउ गरेको छ । दार्जिलिङका सांसद अम्बर राईका छोरा उहाँ एनडीटीभी, टीभी चौबिस घन्टासहितका सञ्चारमाध्यममा कार्यरत हुनुहुन्थ्यो ।

उहाँलाई मध्यरातमा गिरफ्तार गरेको बताइएको छ । उहाँ सेन्ट जोसेफ क्याम्पसका सहप्राध्यापकसमेत हुनुहुन्छ । मोर्चा कार्यकर्ताले गुम, बिजनवारी, लेबुङलगायत विभिन्न स्थानबाट र्याली निकालेका थिए ।

प्रकाशित मिति: ४ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्