कामको चटारोमा तनहुँ स्थानीय विकास अधिकारीविहीन
दमौली, असार ६
जिल्ला समन्वय समिति तनहुँ स्थानीय विकास अधिकारीविहीन भएको छ ।
यसअघिका स्थानीय विकास अधिकारी बद्रीप्रसाद तिवारी प्रधानमन्त्रीको निजी सचिवालयमा सरुवा भई जानुभएपछि तनहुँ स्थानीय विकास अधिकारीविहीन भएको हो ।
असारको २ गते तिवारी सरुवा भई त्यसतर्फ लागेपछि जिल्ला समन्वय समितिमा यो स्थिति आएको हो । असारका बेला सम्पन्न भएका आयोजनाको रकम भुक्तानी लिन उपभोक्ता र ठेकेदार आउने गरे पनि स्थानीय विकास अधिकारी नहुँदा समस्या परेको स्रोतले बतायो ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट अञ्जन न्यौपाने स्थानीय विकास अधिकारीको रुपमा तनहुँमा आउने जिल्ला समन्वय समितिका लेखापाल अनिल गोदारले बताउनुभयो ।
न्यौपाने यसअघि पनि शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा रहँदा काजमा चार महिना तनहुँमा स्थानीय विकास अधिकारीको रुपमा आउनुभएको थियो ।
प्रकाशित मिति: ६ असार २०७४, मंगलबार