सुत्केरी श्रीमतीको हत्या


 


रुकुम, असार २५

रुकुममा एक युवकले २२ दिनकी सुत्केरी पत्नीलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको खुलेको छ। विजयश्वरी–९ अमलाटाकुराका छविलाल बुढाले सुत्केरी पत्नी १९ वर्षीया बालिका घर्तीलाई घरेलु हतियार प्रयोग गरी हत्या गरेका खुलेको प्रहरीले जनाएको छ।

उनले असार २१ गते राती घरेलु हतियार प्रहारबाट पत्नीको जिब्रो काट्नुका साथै टाउको, अनुहार र शरीरका बिभिन्न अंगमा गम्भीर चोट पुर्‍याएका रुकुमका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक पुरनबहादुर क्षेत्रीले जानकारी दिए।

बालिकाको उपचारका निम्ति अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। श्रीमतीको मृत्युपछि फरार रहेका छविलाललाई तीन दिनपछि स्थानीयवासीको सहयोगमा पक्राउ गरिएको हो। उनलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय झिकाइएको प्रहरी निरीक्षक क्षेत्रीले बताए। रासस

प्रकाशित मिति: २५ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्