शिक्षक पद छाडेर रामप्रसाद राई गाउँपालिका बनाउने विजयको सपना
भोजपुर, असार १०
विजय राई जलकन्या प्रावि बैकुण्ठेका शिक्षक थिए । उनले शिक्षण पेशा करिब दुई दशक अंगाले ।
विजय अब शिक्षक छैनन् । किनभने यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि उनी रामप्रसाद राई गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका छन् ।
एमालेबाट उम्मेदवार बनेका विजयको विजय यात्रा सुनिश्चित रहेको बताईन्छ । ४५ बर्षिय राई शिक्षणसँगै यस क्षेत्रका लोकप्रिय सामाजिक अभियान्ता समेत हुन् ।
०४६ पछि अखिल हुँदै एमालेको राजनीतिमा प्रवेश गरेका राई यस गाउँपालिकाको सह संयोजक समेत हुन् । यसबिचमा उनले क्याम्पस ईकाइ समिति, युवा संघ, बैकुण्ठे गाउँ कमिटीमा लामो समयसम्म पार्टी राजनीति गरेको अनुभव छ ।
यतिबेला उनी एमाले भोजपुरको जिल्ला कमिटी सदस्य समेत छन् । मैले धेरै समयसम्म शिक्षण पेशा गरे, विजय भन्छन् अब गाउँपालिकालाई समृद्ध बनाउने सपना बोकेको छु । त्यसैले शिक्षण पेशाबाट राजिनामा दिएर गाउँपालिकालाई समृद्ध बनाउने मेरो एक मात्र लक्ष्य छ, अध्यक्षका उम्मेदवार विजयले भने ।
सात वटा गाविस मिलाएर बनाएको यो यो गाउँपालिकामा आठ वटा वडा रहेका छन् । यहाँ एमालेले कृतिका राईलाई उपाध्यक्षमा उम्मेदवार बनाएको छ ।
माओवादी केन्द्रले अध्यक्षमा थामबहादुर राई र उपाध्यक्षमा सम्झना राईलाई उठाएको छ भने कांग्रेसले अध्यक्षमा दिनेश कार्कीलाई उम्मेदवार बनाएको छ ।
प्रकाशित मिति: १० असार २०७४, शनिबार