भोजपुर कांग्रेसमा जो ‘हिरो’ बने


 


भोजपुर, असार २१
बालकृष्ण थापा भोजपुरका लागि परिचित नाम हो । कांग्रेस भोजपुरका पूर्व पार्टी सभापति एंव २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनामा क्षेत्र नं २ मा उम्मेदवार बनेका थापा यतिबेला चर्चामा छन् ।

स्थानीय तहको निर्वाचनमा भोजपुरमा कांग्रेसले अभूतपूर्व सफलता लिइरहदा थापाको नाम अग्रभागमा आएको छ । भोजपुरमा कांग्रेसका अधिकांश नेतृत्व तहका नेताहरुले वडा तहमा लज्जास्पद हार बेहोरिरहदा थापाले भने एमाले र माओवादीको किल्ला भत्काउन सफल भएका छन् ।

थापा तिनै व्यक्ति हुन् जो, भोजपुर नगरपालिकाको मेयरका प्रमुख आकांक्षी मध्येका एक थिए । उम्मेदवार मनोनयन हुने अघिल्लो दिनसम्म पनि थापा र मेयरमा निर्वाचित कैलाश आलेको नाममा विवाद कायमै थियो ।

अन्तिममा आलेले टिकट पाए । आलेले टिकट पाएसँगै बालकृष्ण थापाले असहयोग गर्छन् भन्ने एकथरिको भनाई थियो । तर भोजपुर कांग्रेसको इतिहासमा थापाले मानक बनाइदिए, आफूले टिकट नपाए पनि आलेलाई जिताएर देखाइदिए ।

यो कांग्रेस भोजपुरको इतिहासमा पहिलो सुखद घटना हो । किनभने आफूले नपाएपछि अर्काेलाई हराउने कांग्रेसको पुरानो परम्परा थापाले तोडिदिए ।

यतिमात्र होइन कांग्रेस भोजपुरका अधिकांश जिल्ला नेतृत्व तहका नेताको गाउँ वडा तहमा सर्मनाक हार बेहोरिरहदा थापा आफ्नै वडामा सम्मानजनक विजय हासिल गरिरहेका थिए ।

त्यतिमात्र होइन भोजपुर नगरपालिकाको वडा नं ११ आम्तेक, हतुवागढी गाउँपालिका वडा नं ६ र वडा नं ९ हसनपुर, आमचोक गाउँपालिका वडा नं ८ दुम्मानामा कांग्रेस पहिलोपटक विजय भयो । यसको श्रेय स्वयम् थापालाई जान्छ ।

गजेन्द्रबहादुर कार्की र वीरबल राई अपवाद बाहेक कांग्रेसका अधिकांश नेताले आफ्नो वडा गुमाएका छन् । कतिसम्म भने जिल्लाका प्राय: सबै कांग्रेसका नेता रहेको ट्याम्के मैयुङ गाउँपालिकामा पदाधिकारी, वडाध्यक्ष मात्र हैन एउटा पनि वडा सदस्य कांग्रेसले जित्न सकेन । तर थापाको वडामा भने एउटा महिला सदस्य बाहेक सबै निर्वाचित भए ।

२०७२ माघमा भएको कांग्रेसको जिल्ला अधिवेशनमा पनि थापाको सहयोगमा नन्दमणी राई सभापति बनेको थिए । त्यतिबेला पनि थापा सभापतिका लागि सबैभन्दा बलिया उम्मेदवार थिए ।

प्रकाशित मिति: २१ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्