अनुष्कालाई यसरी रुवाएका थिए शाहरुखले ?


 


मुम्बई
अहिले आफूलाई खानकै साथ जरुरी नरहेको बताउने बलिउड नायिका अनुष्का शर्माले शाहरुख खान अभिनित चलचित्र ‘रब ने बना दी जोडी’बाट करिअर सुरु गरेकी थिइन् । अहिले उनी आफूलाई प्रभावशाली नायिकाको सूचीमा दरिन खानकै साथ जरुरी नभएको बताउँछिन् ।

आलिया भट्टको उदाहरण दिँदै उनी भन्छिन्, ‘आलिया खानको फिल्मबाट आएकी होइनन्, तर पनि राम्रैसंग अगाडि बढिरहेकी छन् ।’ त्यस्तै, खानकै फिल्मबाट डेब्यु गरेका तर अभिनयमा टिक्न नसकेकाहरूको पनि उदाहरण दिइन् उनले । यति हुँदाहुँदै पनि शाहरुखबाट निकै प्रभावित छिन् अनुष्का ।

उनको भनाइअनुसार शाहरुखसँग कुनै स्वार्थ छैन । पछिल्लो समय धेरै कलाकार आफ्नो चरित्रमा केन्द्रित भएको पाएकी अनुष्कालाई लाग्छ, साहरूख यस मामिलामा उदार छन् ।

‘रब ने बना दी जोडी’को घटना सम्झँदै अनुष्का भन्छिन्, ‘एउटा दृश्यमा म रुनुपर्ने थियो तर मलाई आँसु आइरहेको थिएन । जब शाहरुखले मेरो आँखामा गिल्सिरिन हाल्दिए, मैले रोएर अभिनय गरें ।’ अनुष्काको भनाइमा कतिपय सहकलाकार सहयोगी हुँदैनन् तर शाहरुख अरूभन्दा फरक छन् ।

चलचित्र ‘जब वी मेट’ हेरेपछि अभिनेत्री बन्ने इच्छा जागेको धारणा राख्ने अनुष्का सोही फिल्मबाट इम्तियाज अलीको क्षमताबाट प्रभावित भएकी थिइन् । इम्तियाज अलीकै नयाँ फिल्म ‘जब हेरी मेट सेजल’मा अनुष्का शर्माले शाहरुख खानसँग रोमान्स गरेकी छन् । उक्त फिल्म ४ अगस्टमा रिलिज हुने भएको छ ।

प्रकाशित मिति: २८ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्