बालिका बलात्कार गर्ने पक्राउ


 


धरान, असार २९
आठ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरीको चतराबाट ४० वर्षीय नवराज राईलाई पक्राउ गरेको छ। पक्राउ परेका राई नातामा ती बालिकाको आफ्नै सानो बुबा हुन्।
राईले सोमबार बालिकाकै घरमा बलात्कार गरेको आरोप छ। घटनाबारे राईकी श्रीमतिले नै थाह पाएपछि प्रहरीको जिम्मा लगाइदिएकी थिइन्। राई र उनकी श्रीमतिले नयाँ घर बनाउँदै गरेको हुनाले विगत डेढ वर्षदेखि बालिकाकै घरमा बस्दै आएका थिए।
सोमबार घटनाको बेला पीडितकी आमा भने धनकुटाको छिन्ताङ्ग गएकी थिइन्। राईले उनकी श्रीमतिलाई निर्माण हुँदै गरेको घरको काम हेर्न पठाएका थिए भने पीडित बालिकाको दाजुलाई पनि पसलमा सामान लिन पठाएर बलात्कार गरेको बालिकाकी आमाले बताइन्।

‘पहिला पनि पढ्दै गरेको छोरीलाई घरमा कोही नहुँदा बोकेर कोठामा लैजाँदो रहेछ,’ मंगलबार आमाले भनिन्, ‘पहिला पनि २ पटक नराम्रो काम गरिसकेको रहेछ।’

पीडित बालिकाको १५ बर्षे एक दाजु छन् भने बुबा भर्खरै वैदेशिक रोजगारीमा साउदी अरब गएका छन्। आरोपित राई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा छन्। प्रहरी निरीक्षक रामबहादुर ढकालका अनुसार पीडित पक्षबाट बलात्कार भएको बताए पनि आरोपित राईले भने स्वीकार गरेका छैनन्।

घटनाबारे अनुसन्धान भइरहेको र पीडित बालिकालाई स्वास्थ्य परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको पनि ढकालले जानकारी दिए।

प्रकाशित मिति: २९ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्