स्थानीय तहमा जानै मानेनन् कर्मचारी, यस्तो छ कारण


 



काठमाडौं, साउन ६
स्थानीय तहमा खटाइएका कर्मचारीमा ‘कार्यकारी’ को विवाद उठेको छ । प्रशासन समूहका कनिष्ठ कर्मचारी स्थानीय तहको कार्यकारी अधिकृत हुने भएपछि अन्य समूहका कर्मचारी असन्तुष्ट भएका हुन् ।

विवादका कारण शिक्षा, कृषि र वनजस्ता अन्य समूहबाट खटाइएका कर्मचारी स्थानीय तहमा जान मानिरहेका छैनन् । यसले गर्दा स्थानीय तहबाट हुनुपर्ने शिक्षालगायतका काम ठप्प छन् । आजको कान्तिपुरमा खबर छ ।

खासगरी शिक्षा मन्त्रालयअन्तर्गतका उपसचिव र अन्य प्राविधिक मन्त्रालयअन्तर्गतका प्राविधिकले आफूभन्दा कनिष्ठमातहत रहने गरी काम गर्न नमानेका हुन् ।

विज्ञहरूले भने कर्मचारी समायोजन नभई अन्तरिम व्यवस्थापन मात्र भएकाले अहिले वरिष्ठताको विवाद गर्न नहुने बताएका छन् । निर्वाचन सम्पन्न भएका स्थानीय तहमा कार्यकारी अधिकृतमा सामान्य प्रशासन समूहका कर्मचारी खटाउने निर्णय सरकारले गरेको छ ।

मन्त्रिपरिषद्को गत जेठ १९ को बैठकले ‘स्थानीय तह सञ्चालनसम्बन्धी अन्तरिम व्यवस्थापन आदेश’ जारी गर्दै प्रशासन समूहका कर्मचारीकै मातहत अन्य कर्मचारी हुने निर्णय गरेको हो । चुनावअघि नै गाउँपालिकामा शाखा अधिकृत र नगरपालिकामा उपसचिव तहका कार्यकारी अधिकृत खटाइसकिएको छ ।

प्रकाशित मिति: ६ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्